नेकपा विवादः आज होला ओली र प्रचण्ड विच आइस ब्रेक ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्रको विवादले मुलुकको राजनीति अस्तव्यस्त भइरहेको अवस्थामा आज नेकपाका दुई अध्यक्षविच निर्णायक वार्ता हुने अपेक्षा गरीएको छ तथापि, हिजोको वार्तामा प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवै आ–आफ्ना अडानमा यथावत रहेकाले आजको बैठकबाट पनि ‘गाँठो’ फुस्कनेमा आशंका नेकपाभित्र छ ।

असार १० गते देखि जारी पार्टीको स्थायी कमिटि बैठकमा केपी शर्मा ओलीले पार्टी र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने चर्को दवाव छ । स्थायी कमिटिले आफुलाई घेरावन्दीमा पारेर राजिनामा मागेको भन्दै कुनैपनि हालतमा राजिनामा नदिने बताउँदै आएका ओलीसँग चार दिन यता प्रचण्डले वान टु वान वार्ता गरेपनि दुई अध्यक्षविच ‘आइस ब्रेक’ हुने लक्षण देखिएको छैन । दुवै अध्यक्षहरु आ–आफ्ना पूर्वअडानमा रहेकाले पार्टी विभाजनको रुपरेखा कोरिँदै गएको देखिएको छ ।

हिजो दुई जनाविचको वार्ता झनै विथोलिएको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘पार्टीले मलाई बहुमतले कारवाही गरेर देखाओस् त्यसपछि म देखाई हाल्छु नी ।’ भनेपछि दुई अध्यक्ष विचको दुरी बढेको बुझिएको छ ।

केहीदिन यता सडकमा प्रधानमन्त्रीका पक्षमा प्रदर्शनहरु भएकोमा हिजो अध्यक्ष प्रचण्डले त्यसलाई रोक्न भनेका थिए । पार्टी महासचिब विष्णु पौडेललाई समेत प्रदर्शन रोक्न भनेका प्रचण्डले ओलीलाई समेत त्यहि कुरा दोहोर्याएपछि असहमति झनै बढेको छ ।

ओलीले अध्यक्ष र प्रधानमन्त्री पद वाहेक अन्य विषयमा आफु पार्टीभित्र छलफल गर्न तयार रहेको जनाउँदै आएपनि नेकपाका ४४ स्थायी कमिटि सदस्यहरु मध्ये ३० जनाले राजिनामा दिनुपर्ने माग राखेका थिए ।

प्रधानमन्त्री ओलीको राजिनामा माग्नेहरुमा प्रचण्डसँगै बरिष्ठ नेता माधबकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम तथा झलनाथ खनाल समेत रहेका छन् । पार्टीभित्र प्रचण्डको नेतृत्वमा नेपाल, खनाल र गौतमको गुट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाटै राजिनामा गराउने रणनीतिमा छ । बरु पार्टी फुटाएर जाने तर, कुनैपनि हालतमा राजिनामा नदिने पूर्ववत अडानमा रहेका ओलीले प्रचण्ड पक्षलाई नै संकटमा पारेको राजनिज्ञहरुले बताएका छन् । ‘ओलीले पार्टीसम्मै फुटाएर जाने चेतावनी दिएपछि प्रचण्ड पक्षलाई आफ्नै अडानमा अडिइरहन सकस भएको छ । सडकमा पनि ओलीलाई सरकारबाट हटाउन नहुने नाराहरु लागेका छन् ।’ ओली पक्षका एक केन्द्रीय सदस्यले बताए ।

झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेका ओली पार्टी अध्यक्षमा समेत निर्वाचित भएरै आएकाले कसैले राजिनामा माग्दैमा राजिनामा दिइ हाल्न नहुने ओली पक्षको तर्क छ । ‘जनता र कार्यकर्ताको बहुमतबाट चुनिएका ओलीलाई दुई चार जनाले हटाउन खोज्नु भनेको जनमतको अपमान गर्नु हो । उहाँले कुनैपनि हालतमा राजिनामा दिनुहुन्न ।’ नेकपाका केन्द्रीय सदस्य तथा सांसद नारदमुनी राना भन्छन् । यो बेला मुलुकको राष्ट्रियता र अखण्डता समेत संकटमा परेको बेला राष्ट्रवादी छवि बनाएका ओलीको राजिनामा माग्नु नै गलत रहेको उनको तर्क छ । ‘केही मन्त्रीहरुका कारण सरकारले भने अनुसार काम गर्न सकेन होला, कमजोरी भयो होला तर, यो बेला प्रधानमन्त्रीको राजिनामा माग्ने समय हैन ।’ सांसद रानाको तर्क छ ।

पछिल्लो समय प्रचण्डले पार्टी एकीकरण गर्दा सरकार सञ्चालन आलोपालो गर्ने सहमति कार्यान्वयनमा जोड दिइरहेका छन् । साथै ओलीलाई अध्यक्षमा स्विकार गर्न सकिने बताउँदै आएका छन् । यता प्रधानमन्त्री ओलीले मंसिर ४ गते भएको पार्टीको निर्णय भन्दा अगाडी जान नसकिने दोहोर्याउँदै आएका छन् । ओली पार्टीमा अध्यक्ष प्रचण्डलाई थप कार्यकारी अधिकार दिएर काम गर्न नसकेका केही मन्त्रीहरुलाई समेत सरकारबाट हटाएर जान सहमत छन् ।

पार्टीभित्रका बरिष्ठ नेताहरु बामदेव गौतम, माधब नेपाल र झलनाथ खनाल लगायतले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफैं प्रधानमन्त्री बन्न प्रचण्डलाई प्रस्ताव गरीसकेका छन् । प्रचण्डलाई अहिले सडकमा भारतको इशारामा प्रधानमन्त्री हटाउने चलखेल गरेको आरोप लाग्न थालेको छ । पार्टीका केही केन्द्रीय सदस्यहरुले स्थायी कमिटि नै सर्वोच्च संस्था नभएकाले अब विवादलाई केन्द्रीय समितिमा ल्याउन भनिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *