ओली-दाहाल निर्णायक वार्ता आज, होला त ‘टकराव’को अन्त्य ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्षले निम्त्याएको टकराव थप पेचिलो बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले फुटको जोखिममा पुगेको नेकपालाई निकास दिने प्रयासस्वरूप आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको हो ।

प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरु आआफ्ना अडानमा अडिग भएपछि पार्टी विभाजनको मोडमा पुगेको टिप्पणी नेकपाकै नेताहरुले गरिरहेका छन् । पार्टी स्रोतका अनुसार दिउँसो प्रचण्ड र ओलीबीच भेटघाट हुने कार्यक्रम तय भएको छ । त्यसो त शनिबार पनि यी दुई अध्यक्षबीच भेटघाटको कार्यक्रम तय भएको थियो । तर, यो भेटघाट हुन सकेन ।

प्रचण्ड र नेपाल समूहका नेताहरु छुट्टै छलफलमा व्यस्त भए भने शनिबार प्रधानमन्त्री ओलीले आफ्नो समूहका नेताहरुसँग भेटघाट गरे । प्रधानमन्त्री ओली शनिबार नै राष्ट्रपतिसँग भेटघाटका लागि शितल निवास पनि पुगेका थिए । त्यसपछि उनले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर आफ्नो कित्ता क्लियर गर्न अनुरोध गरे ।

यसअघिको भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग दुवै पद अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए । ओलीले प्रचण्डको यो आग्रहलाई ठाडै अस्वीकार गर्दै भनेका थिए, ‘राजीनामाबाहेक अरु कुरा गर्नुहोस् ।’ दुुई अध्यक्ष र दुई समूहबीच भएका विभिन्न छलफलले कुनै निष्कर्ष निस्किन नसकेपछि शनिबार हुने भनिएको नेकपाको स्थायी कमिटीको बैठक पनि स्थगित गरिएको थियो ।

अब स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच हुन लागेको यो भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *