‘चटपटे अन्तर्वार्ताबाट टाढा भागौँ, आफ्नो व्यक्तित्व आधा घन्टामा स्वाहा नपारौँ !’

काठमाडौँ । कलाकार, निर्माता तथा निर्देशक दिपकराज गिरिले अन्तर्वार्ता दिँदा गम्भीर हुन सुझाव दिएका छन् । लगातार कलाकारहरुको अन्तर्वार्ता नराम्रो तरिकाले ट्रोल बन्न थालेपछि कलाकार गिरीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत् यस्तो सुझाव दिएका हुन् । उनले अन्तर्वार्ता दिँदा सेलेक्टिभ हुन पनि सुझाएका छन् ।

उनले लेखेका छन्, ‘कुनै एक जना पत्रकारले अन्तरवार्ता दिनुपर्यो भन्यो हामी बिना तयारी नै राजी हुन्छौँ । नाइँ भन्नै सक्दैनौँ । टेडामेडा प्रश्नको झटारो सुरू हुन्छ । हामी कलाकार कनिकनि बिना तैयारी बोल्न सुरू गर्छौँ । जसो जसो अन्तरवार्ता अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ, भोलिपल्ट अन्तर्वार्ता होइन, आपत आइलाग्छ । त्यसैले इन्टरभ्यु दिँदा छानेर, बुझेर, प्रशस्त तयारी गरेर मात्रै दिऔँ ।’

पछिल्लो समय कलाकारले बोलेका कुरा एकपछि अर्को विवादमा आइरहेका छन् । राष्ट्रियताका सवालमा बोल्दा नायिका वर्षा राउत चिप्लिएकी थिइन् भने केही दिन अघि मात्रै देशको जिल्ला र प्रदेशका विषयमा नायिका पूजा शर्माको ट्रोल बनेको थियो ।

कलाकार गिरीले यसै सन्दर्भ उठाउँदै लेखेका छन्, ‘हामी किन यसरी बिना तयारी बोल्न अगाडि सर्छौ ? किन बारम्बार चिप्लेर लज्जित हुँदै माफी माग्छौँ ? सबै पत्रकारको नियत राम्रो हुँदैन । ७० प्रतिशत टीआरपी र हेडलाइनकोे चक्करमा हुन्छन् ! अनि किन हामि सधै उनिहरूको यो टिआरपिको ट्रयापमा परेर आफ्नो ब्यक्तित्व कमजोर बनाइरहेका हुन्छौँ । राम्रो नियत भएको, हेडलाइनमा जोड नदिने, सकारात्मक पत्रकारीता गर्ने साथीहरुलाई हामी कहिल्यै स्थान दिँदैनौँ । यस्तै चटपटे हेडलाइनहरूका लागि २४ घन्टा उपलब्ध हुुन्छौँ ।’

पुरा अन्तर्वार्ता नहेरी गलत प्रतिक्रिया राख्न नहुने उनको भनाइ छ । उनले सबैलाई सबै कुरा थाहा हुनु जरुरी नभएको पनि बताएका छन् । ‘पूरा अन्तर्वार्ता त कस्ले हेर्ने यहाँ ? एउटा कलाकारले सामान्य ज्ञान कन्ठ गर्नै पर्छ ? प्रश्न सोध्ने पत्रकारलाइ पनि हंगेरीको प्रधानमंत्रीको नाम थाहा होला ? भिमसेन थापा पछिको प्रधानमन्त्री को थिए थाहा होला ? केपी ओलीज्यूलाई पहिलो कलर नेपाली फिल्म कुन हो थाहा होला ? सबैलाइ सबै कुरा थाहा हुनु जरूरी छैन’, उनले लेखेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडसँगै नेपाली चलचित्र उद्योगमा पनि नातावादको कुरा उठिरहेको छ । धेरैजसो कलाकर्मीहरुले कलिउडमा पनि नातावाद भएको कुरा गरिरहँदा कलाकार गिरीले भने नेपाली चलचित्र क्षेत्रमा नातावाद प्रवेश नगरेको बताएका छन् । नेपाली चलचित्र उद्योग नै बाल्यकालमा रहेका कारण नातावाद विकसित भइनसकेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘कोहि कलाकार नेपोटिज्मका सबालमा बोल्दा चिप्लिए । जबकि नेपालमा चलचित्र उद्योग नै बाल्यकाल मैं छ । यस्ता नेपोटिजम त बिकसित उद्योगमा हुने कुरा हो । त्यसैले हामिले अरूलाइ दोष दिनु भन्दा सकेसम्म चटपटे अन्तरवाताहरूबाट भागौ, अन्तरवाता दिदाँ छानेर, बुझेर, प्रशस्त तयारी गरेर दिऔँ । चित्त नबुझेको कुरा पत्रकारलाई अनुरोध गरेर यो चाहिँ काटिदिनुस्, यो चाहि नबोलौ होला भन्ने गरौ ! आफ्नो ब्यक्तित्व, आधा घन्टाको अन्तरवार्ताबाट स्वाहा नपारौँ !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *