काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा, कार्यतालिकामा परिमार्जन 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा परिमार्जन गरेको छ ।  मङ्गलवार बसेको केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीका कारण प्रभावित महाधिवेशन कार्यपालिका परिमार्जन गरेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको बताए । बैठकमा साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरिका सात हजार वडाको अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताए।

प्रवक्ता शर्माका अनुसार ७५१ स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने तथा एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निर्णय गरिएको छ ।

पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ देखि १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।

गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौँमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *