सौराहाका होटलहरु बने क्वारेन्टिन, व्यवसायी भन्छन्– ‘सरकारलाई सहयोग गरेका हौँ’

- ध्रुवराज खनाल
चितवन । पर्यटकहरुले भरिभराउ हुने सौराहाका होटलहरु अहिले कोरोना पछिको लकडाउनका कारण सुनसान छन् । तर संकटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याइएको छ ।
क्षेत्रीय होटल संघले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो । सोही घोषणाको प्रतिबद्धता पुरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याईएको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।
उनले आफ्नै होटलमा भारतबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुवात गरेका छन् । शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाईएको हो । सौराहाका २६ वटा होटललाई क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याईनेछ । संघले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो ।
सरकारले तोकेको शुल्क अनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन् । संघका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तर अनुसार २ हजार देखी ५ हजारसम्म दैनिक खर्च लाग्नेछ । सो रकम बरावरमा चियाकपी, नास्ता, बिहान वेलुका खानाको व्यवस्था हुने उनले बताए । ‘दिनमा एक छाक मासुसहितको खाना र एक छाक सादा खाना हुनेछ । सरकारले तोकेको शुल्कमा हामीलाई फाईदा छैन । संघले गरेको प्रतिवद्धता र मानवियताका कारण सहयोग गरेका हौँ,’ उनले भने ।
सौराहामा एक सय १० वटा भन्दा बढी साना ठुला होटलहरु छन् । यहाँका होटलहरुको क्षमता ६ हजार जना सम्म राख्न सक्ने छ । कोरोनाका कारण सौराहामा अर्बाैँकाे लगानी डुब्ने खतरा रहेको भन्दै व्यवसायीहरु निरास छन् ।








