प्रचण्डले ओलीलाई भने– ‘भारतले होइन, मैले मागेको हुँ राजीनामा’

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको बताए ।
अध्यक्ष प्रचण्डले मात्रै होइन दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रम ओलीको राजीनामा मागेका छन् । ओलीले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न नपाउने उनीहरूकाे भनाइ छ ।
आइतबार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए । आफूलाई पार्टीभित्रै पनि हटाउने खेल भइरहेको समेत आरोप लागेपछि नेताहरु थप आक्रोशित भएका हुन् ।
भारतविरुद्ध बोलेर प्रम ओलीले पार्टीको प्रतिष्ठा गिराएको सदस्यको आरोप छ । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित पार्न नसकिने उनीहरुको भनाइ छ । जवाफमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा हुबहु कसरी मिले भनेर प्रश्न गरेका थिए । पछिल्लाे समय ओली पार्टीभित्रैबाट आफू घेरिएकाे गुनासाे गर्दै आएका छन् ।








