संसद् सेवा दिवसः सभामुख र अध्यक्षले के भने शुभकामनामा ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरेका छन् ।

उक्त दिवसका अवसरमा दिनुभएको सन्देशमा उनीहरुले लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफनो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वाेच्चतम शासन व्यवस्थाका रूपमाा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । उनीहरुले भनेका छन्, ‘राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ ।’

कोभिड-१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उनीहरुले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट गरेका छन् । आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहिआएको छ ।

संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका छन् । विगतको सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तन र सुधारका परिणामस्वरुप जनताले चुनेका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण भई कार्यान्वयनमा आएको घटनाको उनीहरुले स्मरण गराएका छन् । उनीहरुले सम्पूर्ण सङ्घीय सदस्य, संविधानसभा सदस्य, पूर्वसदस्य र राष्ट्रसेवक कर्मचारीलगायत सम्पूर्ण नागरिकमा संसद् सेवा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *