अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए

काबुल । अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकु मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकु मारिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरूमा सवैजना तालिबान लडाकुहरू रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । शुक्रवार राति सो घटना भएको उनीहरूले बताएका छन् ।

टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा दक्षिणी कान्दाहार प्रान्तको साइसान उपत्यकामा तालिबानहरुले सुरक्षा गस्तीमा रहेका अफगान प्रहरीमाथि आक्रमण गरेपछि नेटो सुरक्षाकर्मीले सो कारबाही गरेका थिए ।

सोही साइसान उपत्यकाको एक गाउँमा सुरक्षाकर्मीहरुले ती लडाकुमाथि हवाई आक्रमण गरेका थिए । कान्दाहार प्रान्तका प्रान्तीय सरकारका प्रवक्ताले सो जानकारी दिएका छन् । स्थानीय समाचार श्रोतका अनुसार आक्रमणका क्रममा अरू छ जना सशस्त्र तालिबान घाइते पनि भएका छन् ।

केही तालिबानहरुलाई नेटो सैनिक समूहले नियन्त्रणमा पनि लिएको जनाइएको छ । यस घटनाका बारेमा तालिबान लडाकुहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *