जन्मदीनमा शिशिरले केक काट्दा बालबालिका भए हर्षविभोर

काठमाडौं । जन्मदीन आफैंमा शुभदिन भएकोले आफु जन्मेको दिनलाई विशेष र अविस्मरणीय बनाउनु आ–आफ्नो रुचिको कुरा हो । पछिल्लो समय हाम्रो समाजमा जन्मदीनमा आफन्त साथीभाई तथा इष्टमित्रहरु बोलाएर खुसीयाली साटासाट गर्ने चलन बढ्दो छ । यसरी खुसीयाली बाँड्ने क्रममा कतिले जन्मदीनमा भब्य पार्टी गरेर लाखौं उडाउँछन् भने कतिले शुभ कार्य पनि गर्दछन् ।

झापा स्थायी घर भइ काठमाडौं मैतिदेवी बस्दै आएका क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडा पनि आफ्नो जन्मदीनमा फरक काम गर्ने व्यक्तिमा पर्दछन् । विगत वर्षहरु देखि नै आफ्नो तथा परीवारमा कसैको जन्मदीनमा समाजमा रहेका दिनदुःखी र असहायको सेवामा गर्ने शिशिरले आज आफ्नो ३७ औं जन्मदीनलाई पनि सार्थक बनाउने काम गरेका छन् ।

गतवर्ष भक्तपुरको मानव कल्याण समाजमा गएर जन्मदीन मनाएका उनले यसपटक जोरपाटी अत्तरखेलस्थित बाल गृहमा जन्मदीन मनाए ।

कोरोनो कहरमा सामाजिक दुरी कायम गर्दै बाल गृह पुगेका शिशिर सिंखडाले त्यहाँ रहेका दुई दर्जन बालबालिकासँग जन्मदीनको शुभकामना साटासाट मात्र गरेनन् त्यहाँ आश्रित बालबालिकाका लागि खाद्यान्न समेत सहयोग गरे । उनले बालगृहमा आश्रित बालबालिकाहरुका लागि चामल, दाल नुन तेल लगायतको खाद्यान्न सहयोग गरेका हुन् ।

शिशिर सिंखडाले बाल गृहमा भएका बालबालिकाहरुलाई राखेर केक काटिरहँदा बालबालिकाहरुले ताली बजाएर शुभकामना दिए । बाल गृहमा कसैले आएर कुनैपनि शुभ कार्य गर्दा आफन्त, आमाबुबा नभएका बालबालिकाहरुको मन खुसी हुन्छ । उनीहरु आफुलाई एक्लो महशुष गर्दैनन् । शिशिर सिंखडाले केक काटेर बालबालिकालाई खुवाईरहँदा त्यहाँका धेरै बालबालिकाहरु हर्षविभोर भएका थिए ।

‘मलाई जन्मदीन, वार्षिकोत्सव जस्ता शुभ दिनहरुमा जाँडरक्सी खाएर जिवन र पैसा बर्बाद गर्ने सोच कहिल्लै आएन, बरु यसरी हाम्रै समाजमा रहेका जसले उदाहरणीय कार्य गरीरहेका छन् उहाँहरुसँग खुसी साटासाट गर्दा आनन्द लाग्छ ।’ शुभकामना साटासाट गर्दै गर्दा सिंखडाले भने ।

मानव भएर जन्मिएपछि समाज र राष्ट्रकालागि केही गर्नुपर्छ भन्ने सोच राख्नुपर्ने बताउँदै उनले हरेकले सकारात्मक सोच बनाएर काम गरे समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने बताए । ‘जिवनमा सधैं पैसाकै पछाडी कुदीरहँदा भौतिक सुख त पाउँला तर, मानसिक र आध्यात्मिक सुख पाउनका लागि ह्दयबाटै मानव कल्याणको काम गर्नुपर्दोरहेछ । त्यसका लागि कुनै पहाड फुटाउनु पर्दैन, आफ्नै छरछिमेकमा भएका दिनदुखी र असहायको सेवा गर्न सकिन्छ ।’ उनको तर्क छ ।

उनले ‘देश बनेन, राजनीतिले देश विग्रियो’ भनेर सरकारलाई मात्र गाली गर्नेहरुले पनि आफुले देश र समाजका लागि के गरें भनेर सोच्नुपर्ने बेला आएको बताउँदै समुन्नत समाज निर्माणको अभियानमा सबैले सकारात्मक सोच राखेर समाजसेवा गर्नुपर्नेमा जोड दिए ।

विगत १० वर्षदेखि स्वेप नेपाल अन्र्तगत बाल गृह चलाउँदै आएकी स्वेताले दुई दर्जन बढि बालबालिकालाई संरक्षण गरेकी छिन् । ‘१० वर्ष भयो मैले यो संस्था चलाउन थालेको, हामीसँग काठमाडौं, हुम्ला, कालिकोट, धादिङ, नुवाकोटका समेत गरी २५ जना अनाथ असहाय बालबालिकाहरु हुनुहुन्छ ।’ उनले भनीन् ।

स्वेताका अनुसार उनले बालबालिकाको संरक्षण मात्र गरेकी छैनन् उनीहरुलाई शिक्षा दिक्षा र स्वास्थ्योपचारको समेत प्रबन्ध गरेकी छिन् । ‘उनीहरुलाई दुई छाक खुवाउनु ठूलो कुरा हैन, उचित संस्कार सहितको शिक्षा दिनुपनी आवश्यक रहेकोले शैक्षिक विकासमा ध्यान दिएका छौं ।’ सञ्चालिका स्वेता भन्छिन् ।

बालगृहमा कसैले जन्मदीनको अवसरमा सहयोग गर्छन् भने कसैले आफ्ना आफन्तहरुको स्मृतिमा पनि सहयोग गर्ने गर्दछन् । कतिपयले आफ्नो वैवाहिक वार्षिकोत्सवमा पनि आएर सहयोग गर्ने गरेका छन् । ‘यहाँ जो सुकैले जस्तो सुकै सहयोग गर्न सक्नुहुन्छ ।’ स्वेता भन्छीन् । बाल गृहमा अढाई वर्षदेखि १३ वर्षसम्मका बालबालिका रहेका छन् ।

माइती नेपाल लगायत विभिन्न संस्थाहरुमा समेत कार्यरत स्वेता केसीले आफुले कमाएको समेत बाल गृहमा खर्च गर्ने गरेकी छीन् । ‘हामीसँग निश्चित र दिगो आम्दानी छैन, कसैले जन्मदीनमा सहयोग गर्नुहुन्छ, कसैले वार्षिकोत्सब त कसैले आफन्तको स्मृतिमा आएर सहयोग गर्नुहुन्छ । कहिले काँही विदेशमा रहेका नेपालीहरुले पनि सहयोग पठाउनु हुन्छ ।’

बाल गृहमा भौतिक पूर्वाधार र लाइब्रेरीको आवश्यक्ता छ । बालबालिकाहरुलाई सुत्ने वेडहरु कम छन्, कार्पेट छैन । यसका लागि स्वेताले जग्गा लिजमा लिएर कटेरो बनाइरहेकी छिन् । १० कोठामा रहेको कटेरो सम्पन्न गर्न उनलाई सहयोगको आवश्यक्ता छ । शिशिर सिंखडा जस्ता उदार ह्दय भएकाहरुले बाल गृहको भौतिक विकासका लागि आवश्यक नगद तथा सामग्रीहरु सहयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *