दुई दिनका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।
बिहिबारदेखि जारी बैठक आजबाट १४ र १५ गते स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए। ‘असार १६ गते विहान ११ बजे पुनः बैठक बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने।

श्रेष्ठका अनुसार भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले दुई दिन बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा सीमाबारे स्थायी कमिटीमा छलफल भएको श्रेष्ठले जनाए । आज २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेका छन् । भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा सदस्यहरूले धारणा राखेको प्रवक्ता श्रेष्ठले जनाए ।

अब असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुने बताइएको छ । आजको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर निस्केका थिए।

ओली स्वास्थ्यवस्था ठिक नभएकाले बैठकमा पुरा समय नबसेको अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *