एमसीसीको दाउपेचमा नेकपा: अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नगर्ने विषयमा निर्णय लिन सकेको छैन् । पार्टीभित्रको आन्तरिक विवादको कारण एमसीसीको बारेमा पटक-पटक छलफल भएपनि नेकपाले निर्णय लिन नसकेको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी परियोजना पारित गरेर जानुपर्ने अडानमा छन् भने सचिवालयमा बहुमत सदस्य एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने पक्षमा छन् । विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी सो सम्झौता संसदबाट अनुमोदन गर्ने–नगर्ने बारे नेकपामा विवाद गहिरो बनेपछि अन्योलता बढेको हो ।

अहिले देश एमसीसीका बारेमा पुरै विभाजित देखिएको छ भने मिडिया सामाजिक संजाल देखि सामान्य चिया पसलसम्म एमसीसीको बहस भइरहेको छ ।  धेरै युवा समुह, राजनीतिक दलहरु एमसीसिको विरुद्धमा आन्दोलन समेत गरिरहेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बैठकका एजेन्डा बारे छलफल समेत भएको छ ।

नेकपामा एमसीसीको पक्ष र विपक्षमा बहस जारी रहेपनि अहिले समग्र पार्टीमा एमसीसीको विपक्षमा धेरै नेता देखिएका छन् । प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमसीसीको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतका नेताहरुले एमसीसीको विरोध गरेका छन् ।

अहिले खाली रहेका केहि मन्त्रालयहरुमा नयाँ मन्त्री बनाउने र केहि अलोकप्रिय मन्त्री हटाउने सम्मको एक्सरसाइज भएपनि एमसीसीको विषय पेचिलो बन्दै गएकाले प्रधानमन्त्री ओली फेरी एकपटक पार्टीमा अप्ठ्यारोमा परेको विश्लेषण गरिएको छ । स्थायी कमिटिको संरचना हेर्दा प्रधानमन्त्री स्पष्ट रुपमा अल्पमतमा रहेकोले स्थायी समितिले एमसीसीको विपक्षमा निर्णय लिनसक्ने विश्लेषण समेत गरीएको छ ।

स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ?
स्थायी कमिटी बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । एमसीसीको विषय सरकारसँग जोडेर समेत हेरिन लागेकाले यो स्थायी समिति बैठक पेचिलो हुने बताइएको छ ।

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार बालुवाटारमा दुईअध्यक्ष केपी ओली र प्रचण्डवीच भएको छलफलले बैठकका एजेण्डाहरु तय गरेको छ । आजको स्थायी कमिटीको बैठकले यसलाई कसरी टुंग्याउला ? सिंगै देशको ध्यान यसैमा केन्द्रित छ ।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =