विश्व योग दिवस : रोग प्रतिरोधी क्षमता बढाउँन योग उत्तम !

काठमाडौं । आज जुन २१ अर्थात विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाईंने गरिएको छ तर, यसवर्ष भने कोरोनाका कारण दिवस प्रभावित बनेको छ ।

विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व योग दिवस मनाइने गरेपनि यसवर्ष औपचारिक कार्यक्रम प्रभावित भएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल र सामाजिक दुरी कायम गरी यो दिवस मनाइँदैछ ।

भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो । राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन् ।

के हो योग ?
सजिलो भाषामा भन्दा योग भनेको मनलाई शरीरसँग जोड्नु हो । मनलाई आत्मासँग जोड्नु नै योग हो । योग भनेको साधना हो । योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ । युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो। यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो ।

विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्यभित्र आत्मा छ । त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो । संसारमा ८४ लाख प्रकारका जीवन छन् । जुन बेलामा आत्माहरूको सृष्टि भए, आत्मा शरीरमा गए, बन्धनमा भए। त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ ।

कर्मको विकारले आत्मा घेरिएको हुन्छ । यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुला गराउने योग मात्र साधन हो । खुला भएको आत्मा नै परमात्मासँग गएर मिल्छ । वास्तवमा जीवनको उद्देश्य नै यही हो ।

त्यसैले ८४ लाखमध्ये मानिसको जुनी एक उत्कृष्ट अवसर हो । योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो । त्यसैले योग भनेको जोडिनु हो । शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन् । चिन्ता, मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन् । योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो ।

योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष । प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो । हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन् । हिमालय र त्यस भेगसँग जोडिएका क्षेत्रमा योगको प्रादुर्भाव भएको हो ।

योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ । तर सही तरिकाले नगरिए फाइदाभन्दा बेफाइदा बढी गर्छ । उपयुक्त तरिकाले योग गरे सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।

बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ । योगले तनाव भगाउँछ । मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *