तनाव व्यवस्थापन सम्बन्धी रुपान्तरण नेपाल सुनसरीको एक दिने अभिमुखिकरण

- भरतराज शर्मा (गोपाल)
धरान । रुपान्तरण नेपाल जिल्ला कार्यसमिति सुनसरी धरानको आयोजनामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लाे समय विश्वभरी फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण सम्पूर्ण मानिसहरुमा बढ्दाे तनाव देखिँदा उनीहरु डिप्रेशनको शिकार बन्ने गरेका छन् ।
यस्तो समस्याले समाजमा नकारात्मक प्रभाव बढ्दै गइरहेको अवस्थामा नेपाली समाज तथा विशेष गरी पत्रकारिता क्षेत्रमा लागेका सम्पुर्ण पत्रकारहरुमा पनि यस विषयमा सचेतनाको आवश्यकता महशुस गरेर रुपान्तरण नेपालले सो कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष सबिता राईले जानकारी दिइन् ।
संस्थाका अध्यक्ष राईको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक विभागका पूर्व प्रमुख तथा हालको प्रतिष्ठानका प्रवक्ता समेत रहेका नितेश सापकोटाले सहजीकरणका क्रममा आत्महत्याको मुख्य कारण मानसिक तनाव रहको बताए । उनले नेपालको परिपेक्षमा ९० प्रतिशत आत्महत्या मानसिक तनावका कारण भएको पाइएको बताए ।
उनले तनाव ब्यवस्थापनलाई कसरी व्यवस्थित गर्ने र कुन-कुन बेला तनावमा परिन्छ भन्ने बारेमा समयको पहिचान गर्नुपर्ने बताए । सोही कार्यक्रममा डा. सापकोटाले तनाव ब्यवस्थापन, सकारात्मक सोच, जीवन परिवर्तनका टिप्सहरुको प्रयोगात्मक अभ्यास तथा प्रतिबद्धता समेत गरिएको थियो ।
सोही कार्यक्रममा एक नम्बर प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले विशेषगरी पत्रकार जगत हरेक क्षेत्रमा दिनैपिच्छे जाने र हरेक तवरबाट बढि मात्रामा तनावमा रहने भएकाले यो कार्यक्रमको सदुपयोग गरि सो तनावको सामाना गर्नुपर्ने कुराको ज्ञान लिनुपर्ने बताए ।
छोटो समय आफ्ना मन्तव्य राख्दै सभामुख भण्डारीले अहिले सारा नेपालमा सामाजिक दुरी ख्याल गर्नुपर्ने भनिरहेकोमा केही असहमति राख्दै सामाजिक दुरी नभई भौतिक दुरी कायम गर्ने भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । भण्डारीले सामाजिक दुरी भनेपछि आफुलाई अप्ठयारो लागेकाले पनि यस्तो प्रकारको शब्द प्रयोग नगरी भौतिक दुरी जस्ता शब्दको प्रयोग सबैलाई गर्न आग्रह पनि गरे ।
त्यस्तै कार्यक्रमकै क्रममा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले अहिलेको समयमा सबैभन्दा बढी तनावमा पत्रकार रहेको हुनाले यस्ता खालको कार्यक्रम गर्नु राम्रो कार्य भएको भन्दै आयोजक रुपान्तरण नेपालको प्रशंसा गरे । उनले कतिपय पत्रकारहरुले कार्यालयको व्यवहारले पनि दिनप्रतिदिन तनावमा परि डिप्रेशनमा समेत गएको अवस्था आएको बताए ।
प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत आर्थिक सहयोगमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए । रुपान्तरण नेपालका पदाधिकारी, अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि सहित करिब ३० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा प्रतिष्ठानका प्रवक्ता तथा प्रा.डा. नितेश सापकोटाले सहजीकरण गरेका थिए भने उक्त कार्यक्रम संस्थाकी सचिव ईन्द्रकला राईले सञ्चालन गरेका थिए ।








