प्रदेश विवादबारे प्रचण्डले भने–हामीलाई सरकार चाहिएको छैन, चलाइ राख्नुस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन् ।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट निर्माणको क्रममा प्रदेश सरकारहरुमा काँग्रेस र एमालेबीच रडाको मच्चिएको कारण नेकपामाथि बाध्यता आइलागेको बताए ।

उनले २०८४ सालको प्रदेश र स्थानीय तहको निर्वाचनपछि मात्रै नेकपा सरकार बनाउनेबारे सोच्ने भन्दै काँग्रेस–एमालेलाई सरकार सञ्चालन गरिरहन आग्रह गरे । उनले विगतमा अन्यदलहरुसँग सहकार्य गर्दैमा वर्षौँ बितेको र नागरिक पनि त्यसै कुरामा भ्रमित भएको टिप्पणी गरे । उनले साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा नेकपाको प्राथमिकतामा रहेको टिप्पणी गरे ।

उनले भने, ‘हामीले कहिले काँग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेशीसँग भन्दाभन्दै हाम्रा दिनहरु त्यसैमा बिते । जनता भ्रमित पनि त्यसैमा भए । त्यसकारण अहिले हाम्रो लागि सरकार मुख्य कुरा होइन । हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य कुरा हो । त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन ।’

उनले सरकारमा भएपछि मात्रै वामपन्थी सहकार्य हुने कुरामा आफू सहमत नभएको बताए । यद्यपि प्रदेश, संविधान र राजनीतिमा नै गाँठो पर्‍यो भने गाँठो फुकाउने कुरामा सहयोग गर्न नेकपा तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =