‘पकेट पार्क’ अभियानमा जुटिन् मिस नेपाल खतिवडा, पहिलो पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण

काठमाडौँ । यतिबेला सन् २०१८ मा मिस नेपाल बनेकी शृङ्खला खतिवडा उपत्यकाको सहर भित्र ‘पकेट पार्क’ निर्माण अभियानमा जुटेकी छन् । काठमाडौँ उपत्यकाभित्रको सहरी विकाससँगसँगै बनेका सडक छेउका खालि ठाउँहरूमा सर्वसाधारणको लागि बस्न/ ओत लाग्नको लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उनले यो अभियान चलाएको बताइन् ।

अभियानअन्तर्गतको पहिलो ‘पकेट पार्क’ ललितपुर महानगरपालिकामा बनिसकेको छ । उक्त पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ ।

मिस नेपाल खतिवडा काठमाडौँको विकाससँगै सडकछेउमा मानिस बस्न, उभिन, ओत लाग्नसम्म पनि ठाउँ नभएको गुनासो गर्छिन् ।

‘काठमाडौँको विकासको ट्रेन्ड हेर्दा लाग्छ हामीले अग्ला अग्ला भवन र चौडा सडकलाई मात्र विकास देख्न थाल्यौँ, तर दुई तर्फ छहारी दिँदै गएका रुखहरू काटिँदै गए, जति पनि काठमाडौँका भित्री भागका जमिन थिए, त्यहाँ सबैको आँखा जाँदो रहेछ, लिजमा लिएर ठुलो भवन बनाउने र आम्दानी गर्ने सोच धेरै देखियो’, उनी भन्छिन्, ‘हामीले एउटा सहरको परिकल्पना गर्‍यौँ, जहाँ साना देखि ठुला हरेक खालि जमिनमा पब्लिक स्पेस/ग्रिन स्पेस निर्माण गर्न सक्छौँ, रुख रोप्न सक्छौँ र त्यहीँ परिकल्पनाअनुरुप हाम्रो पहिलो पार्क पुरा भइसक्यो । ललितपुर महानगरपालिका लाई यो हस्तान्तरण गरिसक्यौँ ।’

रिङ रोड चौडा बनाउने नाममा रूख काटिँदा सडक नै नाङ्गो भएको महसुस उनलाई भएको छ। चक्रपथमा दुईतर्फ छहारी दिएर बसेका अग्ला रूखहरू काटिएपछि चक्रपथमा गुडिरहँदा उनलाईमात्र होइन सबैलाई नरमाइलो लाग्छ।

उनले गत वर्ष झन्डै डेढ महिनाको युरोप घुमाइपछि उपत्यका विकासको दृष्टिकोण बदल्नै पर्ने सोचिन् । उनले भनिन्, ‘युरोपमा जता हेरे पनि पार्क, कुना कुनासम्म हरियाली र व्यवस्थित संरचना देखेँ, त्यसले जीवनको गुणस्तर बढेको थियो।’

काठमाडौँ फर्किए लगत्तै उनले वातावरण अभियन्ता मिलन राईसँग मिलेर ‘रिक्स्ह फाउन्डेसन’ दर्ता गराइन् र उपत्यकाका ठाउँ ठाउँमा पार्क बनाउने अभियान चलाइन् । जसलाई ‘पकेट पार्क’ नाम दिइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *