‘तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी’ मन्त्री अर्याल

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले संघ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको बताएकी छन्।

बुधबार राष्ट्रियसभा बैठकमा मन्त्री अर्यालले बैंक स्थापनाको लागि सम्बन्धित स्थानीय तहले बाँजो जमीन पहिचानको काम गरिरहेको जनाकारी दिएकी हुन्। यसको लागि केन्द्र सरकारले ५० प्रतिशत, प्रदेशले ३० र स्थानीय सरकारले २० प्रतिशत लगानी गर्नेछन्। कोरोना कहरका कारण ग्रामीणमुखी हुन लागेका युवा वर्गलाई लक्षित गर्दै कृषिकार्य गरी भूमिमा पहुँचका लागि बैंक स्थापना गर्न लागिएको बताइएको छ।

पहिलो चरणमा तीन सय स्थानीय तहमा भूमि बैंक एकाइ स्थापना गर्ने गरी मन्त्रालय अघि बढेको पनि बैठकमा जानकारी गराइएको छ। सो बैंकमा शेयर लगानी गर्न सरकारले ५० करोड बजेट विनियोजन गरेको छ। गरिबी पहिचानका लागि परिचयपत्र वितरणको काम भइरहेको र सो सम्बन्धी काम सकी गरिब लक्षित कार्यक्रममा जाने पनि मन्त्री अर्यालले जानकारी दिइन्।

सगरमाथाको उचाई नाप्ने काम सम्पन्न गरिसकेको र निकट भविष्यमानै सो सम्बन्धी रिपोर्ट सार्वजनिक गरिने उनले बताइन्। भूमिसँग छरिएर रहेका कानूनलाई एकीकृत गर्ने र सीमामा खम्बा निर्माणको काम भइरहेको पनि मन्त्री अर्यालले जानकारी दिइन्। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *