महिलाहरु सरकारको आँगनमा नै सुरक्षित छैनन्ः रेखा थापा

काठमाडौं । अभिनेत्री तथा सामाजिक अभियन्ता रेखा थापाले नेपाली महिलाहरु सरकारको आँगनमै असुरक्षित रहेको बताएकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत् कैलालीको क्वारेनटाइनमा रहेकी एक महिलामाथि भएको सामुहिक बलत्कारको विषयमा उल्लेख गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘महिलाहरु सरकारको आँगनमा सुरक्षित छैनन, राजनीतिदेखि परिवारभित्र सुरक्षित छैनन् । किन ? किनकी इज्जत र चरित्रको प्रमाण महिलाले मात्र पेश गर्नुपर्छ र त्यसलाई जोगाउने काम महिलाको एक्लो दायित्व भएको छ ।’

सरकारी क्वारेन्टाइनमा रहेकी महिला सरकारी स्वयंसेवकबाटै बलात्कृत हुनुले के सन्देश दिन खोजिरहेको छ ? भन्दै उनले प्रश्न समेत गरेकी छिन् ।

‘क्वारेन्टाइनमा सरकारले बसाल्ने, सरकारका मान्छे र स्वयंसेवक गएर महिलामाथि बलत्कार गर्ने ? कैयौँ महिनादेखि अर्काको देशमा बसेर दुःख, सुख आफ्नो मातृभूमी फर्केकी महिलामाथिको बलात्कारले हाम्रो समाज र सुरक्षा ब्यबस्था बारे के सन्देश दिएको छ ? युद्द, महामारी, भूकम्प र आम जीवनमा महिलाले आफुलाई आँफै जोगाउनु पर्ने कस्तो बाध्यता ? बलात्कारी र क्वारेन्टाइन बसाल्नेहरुको नैतिकताबारे कुनै प्रश्न उठ्दैन ? खै कहाँ छन् अधिकार र सुरक्षाका प्रत्याभुति ?’, अभिनेत्री थापाले फेसबुकमा लेखेकि छिन् ।

गएको आइतबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका- १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलालाई स्वयं सेवककै रुपमा खटिएका तीन जनाले आफूलाई बलात्कार गरेका थिए । नायिका थापाले सोही घटनाको विरोध गर्दै यस्तो स्टाटस लेखेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *