टेलिकमले असार ७ गतेसम्म विलम्ब शुल्क मिनाहा गर्ने

काठमाडौँ । कोभिड–१९ महामारीको कारण मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी सेवामा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई असार ८ गतेदेखि भने विलम्ब शुल्क नियमानुसार लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यस्तै, जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु कम्पनीको भनाइ छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरू नुवाकोट, रसुवा, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरूमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो ।

ती स्थानहरूलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेनटाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरूमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुने गरी पुनः २ महिना निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

यसै गरी कम्पनीले एफटिटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट सुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अपरेटरलाई गुनासो टिपाउन सकिने छ ।

लकडाउनको अवधिमा कम्पनीका भ्वाइस र डाटा सेवाप्रति ग्राहकको आकर्षण र सोही अनुसार उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको अवस्थामा सो सेवाको गुनासो व्यवस्थापनबाट ग्राहक थप लाभान्वित हुने विश्वास लिइएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *