म्याच फिक्सिङको मुद्दामा सागर थापासहित सबै खेलाडीले पाए सर्वोच्चबाट सफाइ

काठमाडौं। म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन्। नेपाली फुटबल इतिहासमा पहिलो पटक म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एक फिजियोथेरापिस्ट, एक प्रशिक्षक तथा पूर्व खेलाडी र ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका हुन्।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो। यसअघि उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।

सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले साकाजिक सञ्जालमा सत्यको जीत भएको लेखेका छन्। उनले अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भनेर प्रश्न गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *