संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदलाई नेकपाले सोध्यो स्पष्टिकरण

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले संविधान संशोधन विधेयकमाथि मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूलाई स्पष्टीकरण सोधेको छ। जेठ ३१ गते प्रतिनिधि सभामा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन प्रस्तावमाथि मतदान प्रक्रियामा नेकपाका चार जना सांसद अनुपस्थित भएका थिए।

नेकपा संसदीय दलले अनुपस्थित हुने सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण मागिएको हो। उनीहरुलाई जवाफ दिन ५ दिनको समय दिइएको छ। संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दा समेत पूर्व जानकारी बिना अनुपस्थित भएको भन्दै प्रस्टीकरण सोधिएको हो।

‘मिति २०७७/०२/३१ को प्रतिनिधिसभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाई प्रतिनिधिसभा बैठकमा विना पूर्व सूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो। अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दल कार्यालयमा उपस्थित भई लिखित स्पष्टिकरण दिनुहुन निर्देशन गरिन्छ’, नेकपा संसदीय दलले सोधेको स्पष्टिकरण पत्रमा लेखिएको छ।

प्रतिनिधि सभा बैठकबाट सर्वसम्मत पारित भएको संविधान संशोधन विधेयक हाल राष्ट्रिय सभामा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *