सत्तारुढ दलकै सांसदले मागे मन्त्रीहरूको सामूहिक राजीनामा

काठमाडौं। सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुको सामूहिक राजीनामा माग गरेका छन्। मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले बजेट असारमा बजेट पारित भइसके पनि साउनबाट फटाफट काम नगर्ने मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस भनेर असारमा बजेट पास हुन्छ। अनी साउनबाट फटाफाट काम गरे हुनेनी। अनि मन्त्रीलाई काम गर्न केले छेक्यो ? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? किन चैत महिनामा मात्रै अख्तियारी आयो भनेर हल्ला गर्दै हिड्ने ?’

सांसद बिडारीले असारमा काम नगरेरै कागज बनाएर बजेट सकाउने परिपाटी यहीँ वर्षबाट रोक्न माग गरे। छुट्याएको बजेट खर्च गर्न नसेक किन तलब खाएर बसेको ? भन्दै उनले मन्त्रीले यो कुरा विचार गर्नु पर्ने बताए। ‘यहीँ सरकारले यसमा सुधार गरोस्। गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजीनामा दिए हुन्छ। त्यति पनि गर्न नसक्ने?’ उनले भने।

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस् भनेर भन्ने प्रवृतिले विकास हुन नसकेको बताए। उनले भने, ‘विपक्षी झन् त्यस्तै। पैसा यहाँ नी बढाउनु, याँ नी पुगेन त्याँ नी पुगेन भन्छ। अनि बजेट चाँही १ सय रुपैयाँ मात्रै राखियोस् यो मन्त्रालयमा भन्छ। १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे, त्यो नी बनाइदे बजेट पुगेन भन्छ। विपक्षी यस्तै सत्ता उस्तै। अनि देश कसरी विकास हुन्छ?’

सांसदहरु नीति निर्माण भन्दा पनि बजेटकै पछि कुद्ने गरेको उनले बताए। देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने भएपनि आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँध्दै हिड्ने प्रवृतिले देशको विकास नभएको उनले बताए। सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उनले बताए।

कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न मागसहित पछिल्लो समय भइरहेका प्रदर्शनबारे उनले भने, ‘कोभिड—१९ मा कहाँ कति कसरी खर्च भयो भनेर सडकमा नारा लगाउनुपर्छ ? दिनदिनै को वेव साइट छ क्यारे ढ्याक्क हाल्नु। दिनदिनैको खर्च र आम्दानी। यति खर्च भयो, यति आम्दानी भयो, यती डोनेशन प्राप्त भयो भनेर निकाल्दा हुँदैन् ? त्यो निकाल्न कसले छेक्यो हाम्रा मन्त्री ज्युलाई ? अनि सडकमा नारा लगाउन पर्ने विपक्षीले। के के न भनेँ भनेर फुर्ति लगाउने। मैले त त्यो १० अर्बको पैसाको हिसाब मागे भनेर फुर्ति लाउने त्यसो किन गर्‍या।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *