विदेशबाट फर्किने नेपालीको हवाईभाडा सरकारले व्यहोरोस्ः कांग्रेस

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले विदेशमा दुखमा परेका नेपालीलाई ल्याउन हवाई भाडामा व्यापक अनियमितता भएकोप्रति ध्यानाकर्षण गराएको छ। मंगलबार मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापनपत्र बुझाउँदै दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोलीले विदेशबाट फर्किने नेपालीको हवाईभाडा सरकारले व्यवहोर्नुपर्ने माग गरेको छन्।

‘नेपाल फर्कन चाहेका विदेशमा रहेका नागरिकहरुका लागि उपयुक्त व्यवस्था गर्न र हवाईभाडालगायत अन्य खर्च व्यवस्था गर्न नसक्नेको लागि सरकारले उपयुक्त व्यवस्था गरोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘कात्रोमा पनि भ्रष्टाचार गर्ने आसुरी प्रवृत्तिका जिम्मेवार निकाय र व्यक्तिबाट जनता नठगिने जिम्मेवारी सरकारले लेओस्।’

कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग पनि कांग्रेसले आग्रह गरेको छ। आरडीटी परीक्षण तत्काल रोक्न माग गरिएको छ। डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आईसीयूलगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको तत्काल व्यवस्था गर्न सुझाव दिइएको।

‘प्रतिपक्षको सकारात्मक सुझावलाई आत्मसात गरी व्यवहारमा उतार्न देखाएको उपेक्षा चिन्ताजनक र खेदजनक छ,’ ज्ञापनपत्रमा भनिएको छ। विपतको यो असाधारण परिस्थितिमा कृषकलाई आवश्यक मल, बिउ र प्राविधिक सहयोग निशुल्क उपलब्ध गराउन, कृषकको उत्पादनको सहज बजारीकरण वा खरिद गर्ने व्यवस्था गर्न दलले माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *