विराटनगरका युवा आजपनि सडकमाः सरकारमाथि खबरदारी ! (फोटोफिचर)

- सुजता निङ्लेकु
विराटनगर । विराटनगरमा युवाहरुले प्रदर्शन गर्दै महानगरपालिकासँग कारोना नियन्त्रणका लागि गरेको क्रियाकलाप तथा खर्चको विवरण उपलब्ध गराउन माग गरेका छन् । आइतबार विराटनगरमा शान्तिपूर्ण र्याली निकाल्दै युवाहरुले विराटनगर महानागरपालिकाले कोरोना नियन्त्रणसम्बन्धि गरेको कामकारवाहीको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

कारोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनका कारण अप्ठयारोमा परेकालाई महानगरले के कति राहत दिए ? राहत वितरणको पारदर्शिता, सडकमा रहेका घर विहिन तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको अधिकारका साथै विद्यार्थी तथा शिक्षकको अधिकार र बजेट निर्धारण र खर्च लगायत कोभिड व्यवस्थापनको बारेमा जनतालाई जानकारी गराउनुपर्ने उनीहरुले बताएका छन् । पारदर्शिता र जिम्मेवारीको प्रण गरियोस् भन्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

उनीहरुको अनुसार सरकारको विरोध गरिएको होइन, खबरदारी मात्रै गरिएको हो । विराटनगरको तीनपैनीदेखि सरु भएको उक्त शान्तिपूर्ण र्याली विराटनगरका विभिन्न स्थान परिक्रमा गर्दै विरेन्द्र सभा गृहमा पुगेर समापन भएको थियो ।













