आर्थिक विधेयक बहुमतले पारित, राजस्वले दैनिक खर्च धान्न नसक्ने अर्थमन्त्रीको भनाइ

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले राजस्वबाट सरकारको दैनिक खर्च धान्ने स्थिति नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा खतिवडाले पछिल्लो समय आम्दानी भन्दा सरकारको दैनिक खर्च बढी रहेको बताएका छन्। मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्व मात्रै संकलन हुने गरेको उनले बताए।
उनले भनेका छन्, ‘जेठको अवस्था हेर्दा मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुन्छ, त्यसमा १५ अर्बजति भन्सारले योगदान गर्छ, बाँकी केही आन्तरिक राजस्वले। जसले गर्दाखेर अनिवार्य दायित्वलाई पूरा गर्नलाई हामीले थप प्रयास गर्नुपर्ने भएको छ।’
यद्यपि उनले कडा लकडाउनका कारण वैशाख र जेठ महिनामा केही अप्ठ्यारो भए पनि अब व्यावसायिक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातको अवस्था पुरानै अवस्थामा फर्किने बताए। उनले बैंकहरूलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए।
खतिवडाले बजेटमार्फत अनुमान योग्य र लगानी मैत्री बनाउने, आन्तरिक उत्पादनलाई संरक्षण दिने र उपभोक्तालाई मार नपर्ने कर प्रणालीलाई ध्यान दिइएको बताए। उनले निजी सवारीसाधन भन्दा सार्वजनिक विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए। उनले वातावरण प्रदूषण कम गर्न, विद्युतको खपत बढाउन सार्वजनिक विद्युतीय सवारी सञ्चालनमा जोड दिनुपर्ने बताए।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक विधेयक २०७७’ बहुमतले पारित भएको छ।








