‘आजको दिन नेपाली राजनैतिक इतिहासमा ऐतिहासिक दिन’ भगवती चौधरी

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सर्वसम्मतरुपमा अनुमोदन गरेर ऐतिहासिक काम गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले बताएकी छिन् ।

आजको प्रतिनिधि सभाको बैठकले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तथा निशान छाप दुई तिहाईले पारित गरेपछि खुसी ब्यक्त गर्दै नेतृ चौधरीले मकालु खबरसँग कुरा गर्दै नेकपाको सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिइन् । ‘भारतीय पक्षले नेपालका सिमानाहरु सदियौं देखि अतिक्रमण गर्दै आइरहेको अवस्थामा बर्तमान संसदले लिम्पियाधुरा लिपुलेक तथा कालापानीलाई समेटेर नयाँ राजनीतिक, प्रशासनिक नक्सा र निशान छाप दुई तिहाईले पारित गरेर ऐतिहासिक कार्य गरेको छ ।’ उनले भनीन् ।

नेपाली दलहरुविच राजनीतिक रुपमा बैचारिक, सैद्धान्तिक मतभेद भएपनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताका पक्षमा एक ढिक्का हुँन सक्ने गुण रहेको प्रमाणित भएको बताइन् । अतिक्रमित भूमी लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउन अझै गहन चुनौतिहरु रहेको बताउँदै भूमी फिर्ताको अभियानमा सबै दलहरु एकबद्ध हुन आवश्यक रहेको जिकिर गरीन् ।

‘आज संसदमा दलहरु जसरी संविधान संसोधनमा एक ढिक्का भए त्यसरी नै अब भारतसँग कुटनीतिक वार्ता गर्नपनि एकबद्ध हुन आवश्यक छ । सिंगो देश राष्ट्रिय स्वाधिनताका पक्षमा उत्रिएको बेला दलहरुले पनि आपसी मतभेदहरु थाँति राखेर जनता र देशको पक्षमा उत्रिए यो सुखद पक्ष हो । आजको दिन नेपाली राजनीतिमा ऐतिहासिक दिन हो ।’

चौधरीले नेपाली भूमी फिर्ता ल्याउन भारतसँग कुटनीतिक वार्ताको माध्यम नै उचित मार्ग भएको बताउँदै यसका लागि उच्चस्तरीय वार्ता गर्नुपर्ने जनाइन् । ‘अहिलेको अवस्थामा भारतसँग वार्ताको विकल्प छैन । पहिले वार्ताको लागि पहल गर्ने त्यसमा भारतले आनाकानी गरे अन्तराष्ट्रिय अदालत जान सकिन्छ । त्यसका लागि नेपालसँग पर्याप्त तथ्यांक, प्रमाण र आधारहरु तयार भएको छ ।’ उनले भनीन् ।

उनले आजको दिन नेपालको राजनीतिक इतिहासमा स्वर्ण इतिहास बन्ने समेत दावि गरीन् । यसअघि कुनैपनि शासकले भारतीय हस्तक्षेप र सिमा अतिक्रमणका पक्षमा खरो उत्रिएर कुरा गर्न नसकेको स्मरण गर्दै नेतृ चौधरीले नेकपाको सरकार खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाधिनताका पक्षमा लिएको अडानले नेपाल र नेपाली जनतालाई एक शुत्रमा बाध्न समेत सफल भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *