रत्ननगरको बजेटमा नेकपाको चासो, कृषि र पशुपालन प्रविधिको प्रयोगमा जोड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रत्न नगरले शनिवार नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन गर्ने बजेटको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आगामी वर्षको बजेटलाई जनमुखी बनाउन पार्टीले विज्ञ सहित जनप्रतिनिधि र पार्टीका नेताहरू बिचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको पार्टीका नगर अध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए ।

कार्यक्रममा विज्ञहरूले कृषि र पशुपालनलाई व्यावसायिक बनाउन प्रविधिको प्रयोग र प्राविधिकको निःशुल्क व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेका छन् । कोरोना भाइरसबाट नगरबासीलाई जोगाउन अस्पतालमा पिसीआर प्रयोगशाला तत्काल स्थापना गर्न सुझाव दिइएको छ । विज्ञहरूले कोरोना भाइरसका कारण विदेशबाट आउने युवाहरूलाई रोजगारी सँगै आयआर्जनको वातावरण बनाउन कृषि र पशुपालनमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।

शहीद स्मृति बहूमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदत्त तिवारीले शिक्षा सम्बन्धी, विज्ञ समूहका सदस्य गोपी नेपालले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहले गरेका काम, विज्ञ समूहका अर्का सदस्य कपिलदेव सुवेदीले कर सङ्कलन र परिचालन,डा.शिव रिजालले कृषि उत्पादन र बजारीकरणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विज्ञहरूबाट आएका सुझावलाई आत्मसाथ गरी आगामी वर्षको नीति,बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए ।

कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन र शिक्षामा नगरवासीको अपेक्षा अनुसार नै काम भइरहेको भन्दै उनले अबको दुई वर्षमा नगरवासीको अनुहारमा मुस्कान ल्याउने गरी काम गर्ने बताए । मेयर वनले कोरोना भाइरसबाट नगरवासीलाई जोगाउन अस्पतालमा आइसोलेसन वार्ड, आकस्मिक कक्ष, डाक्टरको सङ्ख्या वृद्धि,आइसियु कक्षा निर्माणमा ध्यान दिएको बताए ।

कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, उपमेयर विमला दुवाडी, पार्टीकी जिल्ला कमिटी सदस्य पार्वती न्यौपाने,वडा स्तरका नेताहरू एञ्जीला कुँवर, कमलबहादुर घिमिरे, भीम बहादुर थापा,ऋषबदेब थपलिया, कृष्ण कँडेल, कृष्ण खनाल,गोकर्ण कुमारी महतो, मेघनाथ पौडेल, भीष्मराज पौडेल, रामहरि अधिकारी, बासु लामिछाने, दीलबहादुर बुढाथोकी, बाबुराम श्रेष्ठ, गणेश पौडेल, सागर मिश्र लगायतले मन्तव्य राखेका थिए ।

नेकपाका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नगर अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रम नगर सचिव ओम लामिछानेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *