‘इतिहासका जबरजस्त तथ्य छन्, हामी हाम्रो हक स्थापित गर्न सक्षम हुनेछौं’

काठमाडौं। नेकपाका महासचिव विष्णु पौडेलले अतिक्रमित भूमि फिर्ता ल्याउन नेपालले सही, सम्योचित र संगठित प्रयास गरेको बताएका छन्। शनिवार प्रतिनिधिसभा संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफलमा पौडेलले सिंगो राष्ट्रलाई एकताबद्ध गरेर भूमि प्राप्त गर्ने बाटोमा प्रभावकारी कदम चालेको बताए।
उनले आफ्नो अतिक्रमित भूमि प्राप्त गर्न नेपालले चालेको कदमबाट छिमेकीसँगको सम्बन्ध नयाँ उचाइबाट सुरु हुने बताए। कतिपयले यस कदमबाट भारतसँगको सम्बन्ध बिग्रिने टिप्पणी गर्ने गरेको उल्लेख गर्दै पौडेले त्यस्तो लघुताभासबाट निर्देशित नहुन आग्रह गरे।
उनले भनेका छन्, ‘एउटा काल खण्डमा केही भूमि अतिक्रमित हुन पुग्यो। अहिले त्यो अतिक्रमित भूमिमा हामी हाम्रो हक स्थापित गर्दैछौं। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डलाई नयाँ उचाइबाट सुदृढ तुल्याउँदै अगाडि बढ्दै छौँ। छिमेकीसँगको सम्बन्धलाई बिगार्न होइन। हामीले हाम्रो भूमिमाथि अधिकार स्थापित गरेर छिमेकीसँगको असल सम्बन्धलाई नयाँ उचाइबाट अगाडि बढाउन यो कदम चाल्दै छौ।’
नेपाल नेपालको पक्षमा उभिँदा, स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक र अखण्डताको पक्षमा उभिँदा छिमेकी मित्र राष्ट्रको दिल दुखाउन नहुने समेत उनको भनाइ छ। उनले शक्तिले सत्यलाई पछ्याउनु अपरिहार्य भएको बताए। ‘हामी इतिहासका तथ्यलाई राखेर वार्ता गर्ने र वार्ताबाट समस्याको समाधान गर्ने पक्षमा छौँ’, उनले भने, ‘इतिहासका जबरजस्त तथ्य छन्। हामी टेबलमा बसेर हाम्रो हक स्थापित गर्न सक्क्षम हुनेछौँ।’








