महाकाली सन्धी गरेर कांग्रेस-कम्युनिष्टले राष्ट्रघात गरेको हो कि होइन ?

काठमाडौं। समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धि गर्दा राष्ट्रघात भएको बताएका छन्। शनिवार प्रतिनिधिसभा संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफलमा यादवले त्यस बेला नेतृत्व गर्नेहरूले सुगौली सन्धिभन्दा पनि पछि हटेर महाकाली सन्धि गरेकोले माफी माग्नुपर्ने बताए।
उनले भनेका छन्, ‘महाकाली नदी भन्दा पश्चिमका भाग नेपालले छोडेको हो सुगौली सन्धिमा। तर महाकाली नदिको सम्झौता गर्दा प्रस्तावनामा महाकाली नदिको अधिकांश भूभाग दुई मुलुकको सिमाना भएको कुरालाई स्वीकार गर्दछ। सुगौली सन्धिले पाएको क्षेत्र अधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने र महाकालिका अधिकांश भूभाग साझा र सीमा हुने भनेको छ। सुगौली र महाकाली सन्धि मिलाउँदा हामीले के गरेका रहेछौं त ?’
यादवले सीमा सम्बन्धमा विगतमा कूटनीतिक असफलता देखिएको बताए। महाकाली सन्धि गर्दा सीमाबारे प्रस्ट खोजी किन गरिएन भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘महाकाली सन्धि गर्दा जे गरिएको थियो त्यसको जवाफ दिनुपर्यो। कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्छ। सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धि गर्या हो कि होइन? मधेसीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने? अनि त्यस बेला सन्धि गर्नेहरूले माफी माग्नुपर्दैन?’
उनले सुगौली सन्धिले पनि अपमानजनक रहेको बताए। ‘सुगौली सन्धि अत्यन्त अपमान जनक थियो। नेपालले ठुलो भूभाग गुमाउन पर्यो। नेपालले कुनै पनि युरोपियन वा विदेशीलाई यहाँ काम दिँदा इस्ट इन्डिया कम्पनीसँग सोध्नु पर्ने भन्ने समेतमा हस्ताक्षर गर्यो। तथापि पनि त्यो सन्धि काली नदिलाई सिमाना मानेको छ। त्यसमा स्पष्ट लेखिएको छ। नेपालले काली नदी भन्दा पश्चिमको भागमा आफ्नो दाबी छोड्छ।’








