गुमेको भूभाग फिर्ता लिने नयाँ चरणमा आयौंः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाली जनता कसैको भ्रमको पछि नलाग्ने बताएका छन्। शनिवार प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउने बताए।

उनले नेपाली भूमि फिर्ता ल्याउने विषयमा भ्रम नपर्न पनि नेपाली जनतालाई खबरदारी गरे। उनले भनेका छन्, ‘राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदै छ। खबरदार, नेपाली जनता कसैको भ्रमको पछि लाग्नेछैनन्।’

उनले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताए। प्रचण्डले नेपालीहरूले विश्व सामु राष्ट्रिय मुद्दामा हामीहरू एकबद्ध छौँ भन्ने प्रस्ट सन्देश दिएको पनि बताए। उनले भनेका छन्, ‘अहिले जुन एकता प्रदर्शन भएको छ। नेपाली संस्कृति, नेपाली मनोविज्ञान, नेपाली भावना र नेपाली चेतनालाई अभिव्यक्त गरेको छौँ।’

उनले सीमा समस्याको समाधान कूटनीतिक वार्तामार्फत गर्न चाहेको पनि उल्लेख गरे। प्रचण्डले ऐतिहासिक मुद्दामा खेलवाड गर्ने काम नेतृत्वबाट नहुने पनि बताए। उनले भने, ‘समस्याको समाधान संवाद र वार्ताबाटै हुन्छ, यसलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्नेमा सचेत छौँ । ऐतिहासिक मुद्दामा खेलवाड गर्ने नेतृत्व हामी हैनौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =