संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादीको ह्वीप
काठमाडौं। संविधान संशोधनको पक्षमा मत दिन जनता समाजवादी पार्टीले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ। समाजवादीले आफ्नो सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन समेत दिएको छ।
समाजवादी पार्टीको संसदीय दलको बैठकले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन र संशोधन फिर्ता लिन निर्देशन दिएको एक सांसदले जानकारी दिए। सकरारले संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जारी गरिएको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राख्नका लागि संविधान संशोधन विधेयक ल्याएको थियो।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा संशोधन दर्ता गराएकी थिइन्। समाजवादीका एक सांसदका अनुसार दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै गिरीले ‘म सोच्छु’ भनेर संसदीय दलको बैठकबाट बाहिरिएकी छन्। दलीय निर्णयको विपक्षमा जाने सांसदहरूलाई राजनीतिक दलसम्बन्धी कानुनमा टेकेर कारबाही हुन सक्छ। त्यस्तो कारबाहीमा सांसद पदबाट हटाउनेसम्म हुनसक्छ।
संघीय संसद प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ। उक्त बैठले संविधान संशोधन विधेयकलाई पास गर्ने कार्यसूची छ।