सर्वोच्चकाे आदेशः बन्दाबन्दी पूर्णरूपमा खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउनू !

काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र व्यवसायीले कर बुझाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वाेच्चले बुधबार साे आदेश जारी गरेको हाे ।
आन्तरिक राजस्व विभागले असार ७ गतेभित्र कर तिर्न सूचना जारी गरेको थियो । जारी लकडाउनका कारण यो सम्भव नभएको भन्दै सर्वोच्चल अन्तरिम आदेश जारी गरी आन्तरिक राजस्व विभागले जारी गरेको सूचना कार्यान्यवन नगर्न पनि भनेको छ । ‘असार ७ र १५ गतेभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनि जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रूपमा खुलेपश्चात् बाटोको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू ,’ आदेशमा भनिएको छ ।
साथै बन्दाबन्दीपश्चात पनि केही अवधिसम्म सामाजिक दूरीलगायत अन्य विभिन्न सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्ने अवस्था, परिस्थितिलाई विचार गरी विवरण र कर दाखिला गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्न पनि आदेश दिइएकाे छ ।








