अशोकलाई बदनाम गर्न पुरानो भिडियो भाइरल गरियो : नीता ढुङ्गाना

काठमाडौँ । गायक तथा बाल कलाकार अशोक दर्जीको कुटपिट तथा चरित्रहत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना उनको बचाउमा ओर्लिएकी छन् ।
आफ्नो निर्माणमा बन्न लागेको चलचित्र ‘पार्वती’ का बाल कलाकार दर्जीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नीताले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेकी हुन् ।
सार्वजनिक भिडियोले आफूहरूलाई अत्यन्तै दुःखी र विचलित बनाएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर आएको छैन । हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि सत्य के हो भन्ने कुरा निष्पक्ष रूपमा छानबिन हुन आवश्यक छ ।’
उनले कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन नसक्ने स्पष्ट पारेकी छन्।
यो घटना धेरै समयअघिको भएको दाबी गर्दै नीताले अशोकको निरन्तर मेहनत र सफलताबाट प्रभावित भएर नियतवश भिडियो भाइरल गराइएको आरोप लगाएकी छन् ।
‘अहिले अशोकको निरन्तर मेहनत, लगनशीलता र प्रगतिले चर्चा पाइरहेको बेला पुरानो भिडियो बाहिर ल्याएर उनलाई बदनाम गर्ने प्रयास गरिएको जस्तो देखिन्छ,’ उनले भनेकी छन् ।
अशोकले झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको लिखित निवेदनको प्रतिलिपि समेत सेयर गर्दै उनले घटनालाई एकपक्षीय रूपमा नभई तथ्य र आधिकारिक दस्ताबेजका आधारमा बुझ्न आग्रह गरेकी छन् ।
सामान्य परिवारबाट आएर प्रतिभाकै बलमा अघि बढिरहेका कलाकार अशोक दर्जीलाई यतिबेला सबैको साथ, सहयोग र न्यायको खाँचो रहेको उनले बताएकी छन् ।








