पट्यार लाग्दो लकडाउनः सडकमा बाक्लियो सवारी, निस्कन थाले नागरिक(फोटो फिचर)

सागरबाबु भट्ट-

काठमाडौं । चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन आज ७८ औँ दिनसम्म पनि जारी नै छ । लकडाउन हप्तादिन, दशदिन, पन्ध्र दिन गर्दै लम्बिँदै जाँदा नागरिकहरु छट्पटाउँदै सडकतिर चलपहल गर्न थालेका छन् ।

विभिन्न जिल्लामा पसलहरु आंशिक रुपमा खुल्न थालेका छन् । यद्यपी काठमाडौंका केही ठाउँमा भने प्रहरीले लकडाउन उल्लंघन भएको भन्दै धमाधम बन्द गराएको छ । बन्द गराउने क्रममा केही स्थानमा प्रहरी र व्यापारीबीच घम्साघम्सी नै परेको छ ।

मानिसहरुको चहलपहल पनि बाक्लिँदै गएको छ । सडकमा सवारी साधन पनि बाक्लै रुपमा चलेको देखिन्छ । रोग (कोरोना भाइरस संक्रमण) को चिन्ता त छ नै, सँगै भोकको चिन्ता पनि बढेर आएको छ । आर्थिक गतिविधि ठप्प हुँदा उनीहरुको आम्दानीको मुल नै सुकेको छ ।

उद्योग, कलकारखाना बन्द हुँदा आर्थिक गतिविधि ठप्प छन्। अझै यही मोडालिटीमा लकडाउन लम्बिँदै जाँदा देशमा आर्थिक संकट आइलाग्ने भन्दै विज्ञहरुले दिएको सुझाव अवलम्बन गर्दै सरकार लकडाउन खुकुलो बनाउनतर्फ उन्मुख देखिन्छ ।

आजै लकडाउनको मोडालिटि परिवर्तन गर्ने सम्बन्धमा निर्णय गर्न बालुवारमा मन्त्रिपरिषदको बैठक जारी छ । बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्ने अपेक्षा राखिएको छ ।

सरकारले लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमणको जोखिम भने बढ्ने देखिन्छ । अहिले कमै मात्र चहलपहल भएको समयमा समेत मानिसहरुले सामाजिक दुरी कायम गर्न सकेका छैनन् । उनीहरुमा अझै पनि बानी परेको देखिँदैन दुरी कायम गर्ने । यस्तोमा लकडाउन खुकुलो हुँदा संक्रमण बढ्न सक्ने सम्भावना अत्यधिक रहन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको जानकारी अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्यको विभिन्न जिल्लाका अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १५ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वका विभिन्न देशमा वृद्धवृद्धामा जोखिम बढी भएको र संक्रमण पनि बढी देखिएको भनिएकोमा नेपालमा भने युवा समूहमा संक्रमण बढ्दो छ । पछिल्लो समय तीव्र गतिमा संक्रमित संख्या बढीरहेको अवस्थामा नेपालमा सबैभन्दा बढी २१ देखि ३० उमेर समूहका १५८६ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रोमा ११ देखि २० वर्ष उमेर समूहका छन्, जसमा १०४२ जना संक्रमित छन् । बाँकी संक्रमित अन्य उमेर समूहका छन् ।

१५ तस्विरमा हेरौँ लकडाउनको ७८ औँ दिन मानिसको चहलपहल :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *