संसदमा गगन थापाको सरकारलाई प्रश्नै प्रश्न, जवाफ कसले दिने ? (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सरकारलाई प्रश्नै प्रश्नको झटारो हानेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेता थापाले कोभिड–१९ बाट जनता आक्रान्त भएको अवस्थामा सरकार सुतेर बसेको, भ्रष्टाचारका लिप्त भएको, नागरिक माथि विभेद गरेको भन्दै प्रश्नै प्रश्न तेर्स्याएका छन् ।

सांसद थापाले सरकारले तयार गरेको क्वारिन्टाइन मान्छे राख्ने क्वारिन्टाइन नभइ मान्छे मार्ने कन्र्सटेशन क्याम्प भएको जिकिर गरे । उनले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले नेपालमा कोरोना फैलिनुको दोषको जिम्मेवारी लिनुपर्ने बताए । साथै उनले लकडाउनका कारण खान नपाएर, औषधी उपचार नपाएर मृत्यु भएका नागरिकहरुको जिम्मा कसले लिन्छ भन्दै प्रश्न गरेका छन् ।

सांसद गगन थापाका प्रश्नहरू

नेपाल भन्दा बाहिर १२७ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । नेपाल भित्र १४ जनाको मृत्यु भएको छ, ३७६२ जना संक्रमित भएका छन् । तर के मृत्यु हुनेको संख्या १४ जना मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सुर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी कंकादेशी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कसले लिन्छ ?

क्वारेन्टाइनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिलाबल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आहुजीको मृत्युको जिम्मा कसले लिन्छ ?

यो त प्रतिनिधि घटना मात्रै हुन् । यस्तो धेरै देख्न बाँकी छ । माघ २१ गतेदेखि हामीले उठाइरहेको आवाज, फागुन २३ गते सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफल, कांग्रेसको प्रमुख सचेतकको नेतृत्वमा उच्चस्तरीय नेतृत्वलाई बुझाएको कांग्रेसको प्रस्ताव तथा धरैले सरकारलाई दिएको सुझाव सरकारले सुनेन । न हाम्रो सुन्यो, न अदालतको सुन्यो न प्रेसको सुन्यो न नागरिकको सुन्यो । कसैको सुनेन ।

सरकारले कसैको सुझाव नसुन्दा आज कोरोना भाइरस नियन्त्रणमा रहँदा रहँदैपनि यो अवस्था सृजना भएको थापाको भनाई छ । ‘यसको दोष कस्को ? कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? अदालतले रोकेको हो ? कसले रोकेको हो ?’ थापाले प्रश्न गरेका छन् ।

उनले देशमा कोरोना संक्रमण बढ्नुमा प्रधानमन्त्रीलाई दोष दिएका छन् । ‘यो सबैभन्दा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले भएको हो । सरकारको अकर्यमन्यताले रोकेको हो ।’ सरकारको असक्षमताको कारणले गर्दा कोरोना भाइरस नियन्त्रण बाहिर गएको गगन थापाको दावि छ ।

उनले कांग्रेसले बैठकै बसेर निर्णय गरेर सरकारले कोरोनाको लडाई लडेर पार नलगाउने ठहर गरेको थापाले भने ‘अब हामी यो गर्छौं, त्यो गर्छौं भनेर बस्दैनौं । अब हामी प्रश्न गर्छौं, उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएरै छाड्छौं ।’
गगन थापाले अगाडी भने,

१० अर्ब रुपैंया खर्च कहाँ भयो ? हामीलाई उत्तर चाहियो ।

५ वटा पिसिआर मेसिन किन्ने, २५ हजार वटा किट किनेर १० अर्बको हिसाब किताब देखाउनु पर्दैन ? राष्ट्र विपत्तिमा परेको बेलामा भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्जताको पराकाष्टा हो ।

क्वारेन्टाइनमा १ लाख ६६ हजार मान्छे बस्छन् भनेर प्रधानमन्त्री भन्नुहुन्छ, यो क्यारेन्टाइन होकि मान्छे मार्ने कन्र्सटेशन क्याम्प हो ? जवाफ चाहियो ।

भारतबाट आएका नागरिकसँग गर्ने ब्यवहार यहि हो ? अदालत, संसदले सरकारलाई पिसिआर टेष्टको दायरा बढाऊ भन्यो । सुदुरपश्चिममा कयौं दिनदेखि स्वाब कलेक्सन रोकिएको छ । प्रदेश २ का १० औं हजार मानिसको रिपोर्ट नआएर क्वारेन्टाइनमा छटपटाएर बसिरहेका छन् । तर, सरकार टेस्ट गर्नेको दायरा साँघुरो बनाउँदैछ ।

अब क्वारेन्टाइनमा बस्ने मान्छेको पिसिआर नगर्ने रे, मरेको मान्छेको स्वाब टेस्ट नगर्ने रे ? संक्रमणको आशंकामा मानिसहरुलाई १४ दिन आइसोलेसनमा राखिसकेपछि घर फर्काउने बेला टेस्ट नगर्ने रे ?

बरु सरकारले टेस्ट गर्नै बन्द गरिदिए हुन्छ । अनी नेपाललाई कोरोना फ्रि देश भनिदिने । परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिँदैन । जवाफ चाहियो, जिम्मा कसले लिने हो ?

एक दुई जना कर्मचारीलाई सरुवा गरेर प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले दोषबाट भाग्न नपाउने थापाको भनाई छ । ‘स्वास्थ्य विज्ञहरु र स्वयं स्वास्थ्य मन्त्रालयले आरडिटी परीक्षण काम लाग्दैन भने पनि जवरजस्ती आरडिटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिने ? सरकारलाई प्रश्न गरे ।

थापा भन्छन्,
मृत्यु भइसकेको मान्छेको स्वाव परीक्षण नगर्ने कसले भन्यो ? जवाफ चाहियो ?

अस्पतालको तयारी खै ? यत्रो दिनको लकडाउन गरीसकेपछि अब संक्रमितको संख्या बढ्दै गर्दा उपचार गर्नको निम्ति कुन अस्पतालमा कुन सामग्री थपियो ? कति जनशक्तिको ब्यवस्थापन गरीयो ? यसको जवाफ चाहिन्छ ।

विदेशमा रहेका नेपालीहरुलाई ल्याउने भनेर निर्णय गरीयो, अहिले कुन एयरलाइन्सले बोक्ने भन्ने झगडा गरेर नेपाल आउने भनेर विदेशमा आतुर भएर बसेका नेपालीहरुमाथि यत्रो बज्रपात गर्ने ? जवाफ चाहिन्छ । गर्भवती महिला देखि, खोप पाउने बालबालिकासम्म दिर्घ रोगी औषधी किन पाएनन् ? जवाफ चाहियो ?

उनले कृषक मजदुर, साना उद्योगीदेखि ठूला उद्योगी ब्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत नपाउने ठोकूवा गरे । ‘तिनको लागि कार्यक्रम के छ ? जवाफ चाहिन्छ ।’

उनले अगाडी भनेका छन् ‘उच्चस्तरीय समिति बनाइएको छ, हामी चिन्दैनौं । हामीलाई यहाँ आएर चिनाउनु पर्यो ? त्यो समितिको प्रमुखले यहाँ आएर एकएक हामीले उठाएको प्रश्नको चवाफ दिनुपर्यो । जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री आउनु पर्यो ।

हामीले आज जवाफका लागि अनुरोध मात्र गरेका छौं । तर, हाम्रो कुराको सुनुवाई भएन । अब जवाफ मागेर मात्र बस्दैनौं । थपक्क बोलेर थपक्क बस्ने दिन थए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु सुचारु रुपले अगाडी बढ्ने प्रक्रियाहरु ठाउँसम्म पुग्छौं । सरकारलाई आग्रह गर्छु, सरकारले सोचोस, तयारी गरोस, अब सदनमा कांग्रेसले एउटा एउटा कुराको हिसाब सरकारले नदिइकन सरकारलाई सुतेर बस्न दिँदैन भन्ने कुरा जानोस ।
गगन थापाले आजको प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको संपादित अंश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *