जसपा पार्टी आयोगमा दर्ता, अध्यक्षबाट ‘टिपेक्स’ लगाएर हटाइयो बाबुरामको नाम

काठमाडौं । निर्वाचन आयोगमा आज नयाँ दल दर्ता भएको छ । जनता समाजवादी पार्टी (जसपा)ले आइतबार नेतृत्वको सहमति पछि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पत्र बुझाएको हो ।

पार्टी दर्ता अघि अध्यक्षको दोस्रो वरियता क्रममा रहेको डा. बाबुराम भट्टराईको नाम ‘टिपेक्स’ले मेटाएर अशोक राई पछिको वरिष्ठ नेताको रुपमा नाम लेखिएको छ । सहमति हुँदा ३ जना अध्यक्ष भनेर सहमति भएपनि के कति कारणले हटाइयो भन्ने खुलाईको छैन । कार्य समिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। तर, वरियता विवाद नटुंगिएको तर कागजपत्र बुझाउनुपर्ने अन्तिम दिन आइतबार भएकाले भट्टराईले तत्कालका लागि जुनसुकै पदमा राखे पनि हुन्छ भनेपछि उनको नाम बरिष्ठ नेतामा राखिएको स्रोतले जानकारी दिएको छ ।

यद्यपि जसपाको दल दर्ता नम्बर १३९२ छ । आयोगले कागजातको आवश्यक छानविन गरेपछि जसपालाई औपचारिक मान्यता दिनेछ । कागजपत्रको अध्ययन गरी ४५ दिनभित्र दल दर्ताको प्रक्रिया सकिने आयोग स्रोतले बताएको छ ।

गत बैशाख १० गते राजपा र समाजवादीबीच पार्टी एकताको घोषणा भएको थियो । त्यसको भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेर एकताबारे लिखित जानकारी दिएका थिए । लिखित जानकारी दिएको ४५ दिनभित्र दर्ता गराउनुपर्ने प्रावधान अनुसार जसपाका नेताहरुले आइतबार अन्तिम दिन आयोग पुगेर दल दर्ता सम्बन्धी कागजपत्र बुझाएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *