४५ लाखको सौराहा प्रवेशद्वार निर्माण गरिँदै

ध्रुवराज खनाल/

चितवन । चितवनको पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति चित्रसारी पुलमा आकर्षक प्रवेशद्वार निर्माण गरिँदै छ ।

पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी पाँच वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाउन सकेको थिएन ।  क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाका प्रथम उपाध्यक्ष एवं प्रवेशद्वार निर्माण समितिका सचिव राममणि खनालका अनुसार नेपाल पर्यटन बोड, बाग्मती प्रदेश सरकार र स्थानीय सङ्घ संस्थाको सहयोगमा पाँच वर्षअघिबाट प्रवेशद्वार निर्माण थालिएको हो ।

प्रवेशद्वार निर्माण समितिका सचिव खनालका अनुसार पाँच वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा निर्माण कार्य बिचमा रोकिएको कारण केही ढिलो भएको खनालले बताए । कोरोना भाइरसको कारण जारी लकडाउनको समयमा पनि प्रवेशद्वार निर्माण कार्यलाई निरन्तरता दिइएको र निर्माण कार्य अन्तिम चरणमा पुगेको क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

प्रवेशद्वार निर्माणका लागि हालसम्म बाग्मती प्रदेश सरकारको १६ लाख ३२ हजार, पर्यटन बोर्डको २२ लाख पैतालीस हजार सहयोग प्राप्त भएको र अपुग रकम स्थानीय निकाय एवं सङ्घ संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न हुने अध्यक्ष भट्टराईले बताए ।

प्रवेशद्वार निर्माण सम्पन्न गर्दा ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको छ । प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनावरको आकृति कुँदेर आकर्षक बनाइने छ ।

प्रवेशद्वारको दुवै तर्फ गैँडाको मूर्ति राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *