लकडाउनका बेला डिएसपी न्यौपानेलाई खुट्टै टेक्न नसक्ने गरी कसले खुवायो दारु ?

धरान । सायद नेपालको कानुनलाई ‘सानालाई ऐन ठूलालाई चैन’ भनेर त्यसै खिल्ली उडाइएको हैन रहेछ । ठूलालाई जे गर्न पनि छुट, सानाले झिंगा मार्दा पनि कानुन । सुनसरीको धरानमा गएराती यस्तै एउटा घटना घट्यो ।

जेठ २१ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट काम गरेको भन्दै सम्मानीत भएका इलाका प्रहरी कार्यालय धरानबाट सरुवाको रवाना बुझिसकेका डिएसपी ढुण्डीराज न्यौपानेले एक ब्यापारीको कार ध्वस्तै हुनेगरी दुर्घटना गराएका छन् । लकडाउनका बेला गएराती धरानको एक होटलमा केही ब्यापारीहरुसँग बसेर विदाई पार्टीमा अत्याधिक मादक पदार्थ सेवन गरेका डिएसपी न्यौपानेले धरान-८ भोटेपुलको गोरखा डिपार्टमेन्ट स्टोर अगाडी उक्त कार दुर्घटना गराएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

डीएसपी न्यौपानेले चलाएको उक्त कार धरानका ब्यापारी गोपाल श्रेष्ठको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कार डिएसपी न्यौपाने आफैंले चलाएका थिए । धरान–८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडी राती करिब ९ बजेको समयमा बा १० च ८०९६ नम्बरको कार दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार एकजना सवार सेतो कार डिपार्टमेन्ट अगाडीको बिजुलीको पोलमा अनियन्त्रित भई ठोक्किएको थियो ।

दुर्घटनाबाट कुनै मानविय क्षती नभएपनि कारको अग्रभागमा भने ठूलै क्षति पुगेको छ । दुर्घटना भएको करीब १ घण्टापछि सवा १० बजेको समयमा कारलाई ईलाका प्रहरी कार्यलयको गाडीले तानेर लगेको थियो । इलाका प्रहरी कार्यालयका नयाँ डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले डिएसपी न्यौपाने सकुशल रहेको बताएका छन् ।

उनले गाडीको टायर पञ्चर भएर सामान्य दुर्घटना भएको जिकिर गरे । ‘गुडीरहेको बेला एक्कासी टायर पञ्चर भएर विजुलीको पोलमा ठोक्किएछ । उहाँ सकुशल हुनुहुन्छ ।’ मकालु खबरसँग बस्नेतले भने । डिएसपी न्यौपानेको माेवाइल भने अफ छ ।

यता श्रोतले दिएको जानकारी अनुसार डिएसपी न्यौपानेको हात खुट्टामा चोट लागेको छ । उनलाई सोही समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार उनले अत्याधिक मादकपदार्थ सेवन गरेका थिए ।लकडाउनको बेला सम्पूर्ण पसल, ब्यवसाय बन्द रहेको अवस्थामा डिएसपीले धरानको भानुचौकमा रहेको धरान किचनमा बसेर पार्टी खाएको स्रोतको दावि छ । पार्टीमा डिएसपी न्यौपानेसँगै अरुण प्रेटोलियमका सञ्चालक गोपाल श्रेष्ठ लगायत रहेको स्रोतको दावि छ ।

डिएसपी न्यौपाने जेठ १५ गते नै प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरो नक्सालमा सरुवा भएकोमा अहिलेसम्म आइपुगेका छैनन् । उनलाई धरानमा शान्ति सुव्यवस्था कायम गरेको भन्दै जेठ २१ गते जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको थियो भने, विभिन्न संघसंस्थाले पनि सम्मानपूर्वक विदाइ गरेका थिए ।
करिब १३ महिना इलाका प्रहरी कार्यालय धरानको प्रमुख भएर बसेका डिएसपी न्यौपानेले त्यहाँका उद्योगी, ब्यापारी, राजनीतिक दल र केही युवाहरुसँग राम्रो मित्रता कायम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *