सरकार मैले कर के का लागि तिर्नु ?

अर्थ मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी जेठ २५ गतेभित्र आयकर बुझाउन ताकेता गर्यो । कोभिड–१९ को कारण सरकारले नै लकडाउन गरेर सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर ‘घरभित्र बस’ भनेको ७२ दिन भइसकेको थियो । र, लकडाउनको अन्तिम समयावधि जेठ मसान्तसम्म भनेको अवस्थामा एकाएक अर्थमन्त्रीले जेठ २५ गतेभित्रै सम्पूर्ण कर चुक्ता गर्न ताकेता गरेपछि उद्योगी व्यवसायीमात्र हैन आम सर्वसाधारण पनि आश्चर्य चकित भए ।

‘एउटै सरकारका एउटा मन्त्री लकडाउन थप्ने, अर्को चैं, लकडाउनकै विचमा कर तीर भन्ने ?’
सारा व्यापार व्यवसाय ताल्चा लगाएर राखेको बेला कहाँबाट पैसा ल्याउनु ? कहाँबाट कर तिर्नु ?

फेसवुक, ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा तथा कम्युनिस्ट सरकारका विरुद्धमा चर्को आलोचना भयो । त्यसमाथि सरसापट गरेर भएपनि कर दिर्नु भन्ने अभिब्यक्ति आएपछि ७३ दिनसम्म घरभित्र गुम्सिएर बसेका आम सर्वसाधारण सडकमै आएर नारा लगाउन थाले ।

‘अर्थमन्त्री कर त तिर्छु तर, सापटी चैं तिमीले देऊ’ सामाजिक सञ्जालमा छरपस्ट यस्ता ट्रोलले अर्थमन्त्री डा. खतिवडालाई छोयो छोएन तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने छोएछ । भोली पल्टै अर्थात बुधबारै कर तिर्ने जेठ २५ को समयलाई असार पहिलो र दोस्रो हप्ता सम्म सारिदिए । एक हदसम्म उद्योगी व्यापारीले राहत त पाए तर, जेठ मसान्तपछि लकडाउन लगाउन पर्दैन र ? या असार १५ पछि कोभिड–१९ बाट मुलुकले मुक्ति पाउँछ ? देशको अर्थतन्त्र चलायमान होला ? जनताहरु निर्वाध काममा जान सक्लान् ? ब्यापारी ब्यवसायीले पसल खोल्न सक्लान् ?

यी प्रश्नका उत्तर नत सरकारसँग छ, नत अर्थमन्त्रीसँग । तैपनि अर्थमन्त्रीले कुन आधार र नैतिकतामा टेकेर जनतालाई कर बुझाउ भने ? अग्रिम आयकर तिर भने ?

म आफ्नै व्यवसायको कुरा गर्छु । सामान्य एजेन्सी छ, लकडाउन अगाडीसम्म मलाई कार्यालय चलाउन र ट्याक्स तिर्न धौधौ थियो । धौधौ यस कारणकी हामीले भ्याट विल जारी गर्दा त्यसको पैसा आइपुग्न करिब तीन महिना लाथ्यो । जस्तो मैले बैशाख २ गते अमुक पार्टीलाई ३० हजार क्लेम गर्दै भ्याट विल काटे । त्यो विलको विवरण मैले २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा भर्नुपर्दछ । र १३ प्रतिशत कर बुझाउनु पर्दछ । सरकारले भनेको समयमा भ्याट रकम बुझाइन भने मैले जरीवाना तिर्नुपर्दछ । मेरो लाटो हिसाब हो यो ।

तर, मैले जुन पार्टीबाट ३० हजार र त्यसको १३ प्रतिशत लिनुपर्दथ्यो त्यो पैसा म कहाँ आइपुग्न कम्तिमा तीन महिना लाग्छ । समस्या यहि निर हो । मेरो भन्नुको तात्पर्य मैले जसबाट भ्याट क्लेम गर्छु उसैबाट भ्याट रकम नआइ कसरी सरकारलाई बुझाउन सक्छु ? समयमै पैसा उठाउन नसक्नु हाम्रो कमजोरी होला । तर, यो नियत त हामी जस्ता अनगिन्ती सेवाग्राहिको छ ।
आज हामी लकडाउनको ७३ औं दिनमा छौं । मैले दुई महिना अगाडी भ्याट विल काटेको अझै भुक्तानी पाउन सकेको छैन । जुन पैसा मैले पाएकै छैन त्यसको भ्याट रकम मैले कहाँबाट बुझाउनु ?

सरकारले भन्यो, ‘सरसापट गरेर भएपनि बुझाउनु ।’ तर, माननीय मन्त्री ज्यू, हामी जस्ता खुद्रे कारोबारीलाई अहिलेको विषम परिस्थितिमा कसैले सापटी दिँदैनन् । तपाई पनि कसैलाई एक सू को सापटी दिने हैसियतमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । किनभने, तपाई हामीलाई सबैभन्दा प्यारो त आफ्नै घरपरीवार लाग्छ नि हैन ? तपाईको घरमा एक छाक मात्र पुग्ने रासन छ । तर, कसैले तपाईलाई आएर त्यही रासन चाहियो भनेर ढिपी गर्छ भने तपाई दिन सक्नुहुन्छ ? अहं पक्कैपनि तपाई आफ्ना लालाबालाको पेट भोकै पारेर दानवीर बन्न सक्नुहुन्न । यदि तपाईले त्यसो गर्ने दृढता गर्नुहुन्छ भने महानता हुन्छ । तर, म मेरो परीवारलाई भोकभोकै राखेर दानवीर बन्नु छैन । महान बन्नु छैन ।

तर, तपाईं त मुलुककै अर्थमन्त्री हुनुहुन्छ, यो बेला तीन करोड जनताले के खाए खाएनन् हेर्ने जिम्मेवारी त तपाईको होनी ! तर, तपाईले राज्यको ढुकुटीबाट थोरै राहत निकालेर उद्योगी ब्यवसायी र जनतालाई ‘ल अहिलेलाई राज्यले सहयोग गर्छ, परिस्थिति सहज भएपछि कर तिर्नुस’ भन्न सक्नु भएन । उल्टै जनता कोरोनाको त्रासमा घरभित्र लुकेर बसेको बेला तानाशाहको जस्तो जसरी पनि ‘तिरो तिर’ भनेर हुकुमी शैली देखाउनु भयो ।

अर्थमन्त्री ज्यू, मैले माथि नै भनिसके, म यो बेला सबैभन्दा पहिला मेरो परीवार, मेरा कर्मचारीहरु प्रति उत्तरदायी हुन्छु । मैले मेरो परीवारको लालनपालन गर्नका लागि दैनिक रोजीरोटीका लागि ब्यापार ब्यवसाय गरेको हुँ । लकडाउन अगाडी मैले राज्यलाई नियमित कर बुझाएको छु । हरेक वर्ष नाफाको निश्चित प्रतिशत राज्यलाई बुझाएको छु । राज्यले अख्तियार गरेका सबै प्रकारका नियम काउनु पालना गरेको छु । राज्यलाई मैले बुझाउनु पर्ने सबै प्रकारका कर बुझाउँदा पनि मैले राज्यबाट पाउने आधारभूत सुविधा पनि पाएको छैन ।

हो, अर्थमन्त्री ज्यू यो पाँच वर्षमा मैले मेरो ब्यवसाय, मेरो परीवारका लागि राज्यले यो गरिदियो भनेर गौरब गर्न लायक केही पाइन । घरको अभिभावकले सन्तानले के खाए, के लाए विचार गर्दैन उसका आवश्यक्ता पुरा गर्दैन भने त्यसलाई अभिभावक भनेर सम्मान गरिरहन आवश्यक देख्दिन म । मैले राज्यबाट गाँस बाँस र कपासको ग्यारेण्टी पाएको छैन । मैले मुलुकको संविधान मै प्रदत्त शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, खानेपानी, सडक तथा मानवअधिकारको अवसर पाएको छैन । जब मैले राज्यबाट कुनै आधारभूत सुविधा उपभोग गर्न पाउँदिन भने त्यो राज्यलाई कर तिर्नुको के अर्थ ?

हो, अर्थमन्त्री ज्यू, म सरकारदेखि सरकारको नितीनियम र पद्दतिदेखि वाक्क भइसकेको छु । शासकको गल्तीको सजाय जनताले पाएको देखेर हामी जस्ता युवा ब्यवसायी जो देशमै केही गर्न चाहिरहेको छ तीनीहरु निराश भइसके । त्यहि भएर १२ कक्षा पास गर्दा नगर्दै एउटा १८ वर्षको युवा पासपोर्ट बनाएर बैदेशिक रोजगारमा लम्कन्छ । यदी स्वदेशमै केही गर्ने अवसर हुँदो हो, राज्यले सीप अनुसारको रोजगारीको ग्यारेण्टी गर्दो हो त त्यो युवक आफ्ना परीवारबाट टाढा भएर भाषा, संस्कार संस्कृति, परीवेश र कानुन नै फरक भएको मरुभूमीको ४० डिग्री घाँममा बेल्चा हान्न तम्सिदैनथ्यो ।

अर्थमन्त्री ज्यू, तपाईले जेठ १५ गते संसदमा बजेट भाषण गर्दै गर्दा ७ लाख युवाहरुलाई रोजगारी दिने कुरा गर्नु भयो । तपाईले बोलेका प्रत्येक शब्दमा राष्ट्रीयता झल्किँदै गर्दा मेरो मनमा चैं एक रत्ति पनि विस्वास पलाएन । तपाईले संसदमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकीकरण, युवा स्वरोजगारका लागि बजेट विनियोजन गरेको छु’ भन्दा मलाई अघिल्लो वर्ष जेठ १५ मै तपाईले संसदमा यस्तै गरेर बजेट भाषण गर्दा बोलेको शब्दहरु स्मरण भयो ।

अर्थमन्त्री ज्यू, अघिल्लो वर्ष युवा स्वरोजगार, कृषि आधुनिकीकरणमा कति युवाले रोजगार पाए ? कति युवा स्वरोजगार भए ? त्यसको लेखाजोखा छ तपाईसँग ? तपाईले कृषिमा अरबौं रकम विनियोजन गर्दा कुनै एउटा किसानले त्यसबाट लाभ लिएको, कुनै एउटा युवाले त्यसको सदुपयोग गरेको तथ्यांक दिन सक्नुहुन्छ ? बैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न प्याकेज त अघिल्लो वर्ष नै ल्याएको हैन र विदेशबाट फर्किएका कति युवाहरुले लाभ लिए ?

त्यसकारण मलाई सरकारले जनताका पक्षमा काम गर्छ, जनजिविकाका पक्षमा काम गर्छ भन्ने पटक्कै विस्वास छैन । यो सरकारसँग मात्र हैन मन्त्री ज्यू, यस अघिका कुनैपनि सरकारले देश र जनताका लागि काम गरेको छ भनेर भन्न लाज लाग्छ । जब म जस्ता आम नागरिकले राज्य भएको अनुभूत गर्न पाउँदैनन् भने त्यो राज्यलाई किन कर तिर्नु ? आम जनताले प्रश्न उठाउन थालिसके । छोराछोरीले बाटो विराउँदा अभिभावकले गाइड गर्लान् तर, अभिभावकले नै लत्तो छाडेपछि घर कसले संहाल्ने ? त्यस्तै भएको छ देश अहिले । बाटो तपाईहरुले विराउँदै हुनुहुन्छ, सजाय जनताले पाइरहेका छन् ।

अन्तमा,
एउटा नेताले भन्ने गर्दथे–‘लोकतन्त्र भनेको शासन प्रणालीको शब्दजाल मात्र होइन, यो त त्यसमा सहभागी हरेक ब्यक्तिको आचरण, व्यवहार, जीवनशैलीले नै स्पष्ट गर्ने चरित्र हो । लोकतन्त्र भनेको सादगी, सम्य र सदाचारी विचार पनि हो । लोकतान्त्रिक चरित्रमा दम्भ, घमण्ड र आक्रमक शब्दहरुको स्थान कमजोर हुन्छ ।’ तर, लोकतन्त्रका यी सुन्दर आयामहरु बर्तमान सरकारसँग कतै देखिएन महोदय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.