स्वास्थ्य संकटकाल लगाउन सिफारिसः स्वास्थ्य संकटकाल पछि कस्ताे हाेला अवस्था ?

काठमाडौं । सरकारले मुलुकमा स्वास्थ्य संकट लगाउने तयारी गरेको छ । कोरोना संक्रमित बढेपछि स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) लगाउन स्वास्थ्य मन्त्रालयले सरकारलाई सिफारिस गर्ने भएको छ ।

बुधबार मन्त्रालयमा बसेको बैठकले २ हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको र उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय भएको मन्त्रालयका इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिएका छन् । ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि जारी गर्छौं ।’ डा. लोहनीले भने ।

डा. लोहनीका अनुसार संक्रमणको दर बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो ।

मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ । दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागु हुनेछ । यस्तै, पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयले तेस्रो चरणको उपचार रणनीति लागु गर्नेछ ।

चौथो चरण अन्तर्गतको रणनीतिमा १० हजारभन्दा बढीमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड–१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने पाँच सयभन्दा बढीलाई आईसीयू चाहिन सक्ने अनुमान गरीएको छ । सरकारले जारी गरेको हेल्थ इमर्जेन्सीमा विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्तहरु स्वतः लागु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *