गण्डकी विकास बैंक प्राप्ति गर्न मेगा बैंकलाई बाटो खुल्यो 

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आज बुधबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्ताव पारित भएसँगै मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा वृद्धि हुने मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बताएका छन् । विशेष साधारण सभामा बोल्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताईन् ।

उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिँदै मेगा बैंकलाई देशकै महत्वपूर्ण बैंक बनाउन आफुहरु लागि परेको बताइन् । देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११ औं स्थानमा रहने सीईओ खुञ्जेलीको दावि छ ।

खुञ्जेलीका अनुसार, गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ । निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिव ११ लाख हुनेछ भने शाखा संख्या २०६, एक्सटेन्शन काउन्टर ३०, एटीएम १४२ वटा हुनेछन् ।

यता पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि आजै  सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले सर्वसम्मत पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड छ ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंककी सिइओ खुञ्जेलीले बताइन् ।

मेगा बैंक लि. २०६७ सालमा स्थापना भएको हो । मेगा बैंकले उद्यमी तथा साना कर्जा क्षेत्रमा ल्याएको कार्यक्रम लोकप्रिय कार्यक्रमका रुपमा परिचित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *