लकडाउनमा के गर्दैछन् उत्कृष्ट भनिएका सामुदायिक विद्यालयहरु ?

काठमाडौं । कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा छ । पुरै शैक्षिक क्षेत्र ठप्प छ । एकातिर एसईई र कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन भने अर्कोतिर नयाँ शैक्षिक सत्र शुरु हुन सकेको छैन । सरकारले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई अगाडि बढाउन निर्देशिका जारी गर्दै त्यसको तयारीमा लागेको अवस्था छ ।

अहिलेको लकडाउनको अवस्थामा मुलुकका उत्कृष्ट भनिएका सामुदायिक एवं सरकारी विद्यालयहरु के गर्दै छन् । यस महामारी र यसपछिको अवस्थामा शिक्षणसिकाइ गर्ने यि विद्यालयहरुको योजना के छ ? यस विषयमा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालले मुलुकका उत्कृष्ट भनिएका १० विद्यालयबिच अन्तरक्रिया गराएर उनीहरुको अवस्था, योजना र तयारीका विषयमा जान्न खोजेको छ ।

समाजका अध्यक्ष भिमप्रसाद पोखरेलले उत्कृष्ट भनिएका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि भइरहेका राम्रा अभ्यास, शैक्षिक अवस्था र कोभिड–१९ को महामारी पछि विद्यार्थी टिकाइराख्न गरिएको प्रयत्न तथा त्यसपछिका योजनाका विषय सबैलाई जानकारी होस् र प्रेरणा मिलोस भनेर कार्यक्रम आयोजना गरिएको बताए । यसपटक मुलुकका उत्कृष्ट १० विद्यालय समेटिएको र बाँकी विद्यालयलाई आगामी कार्यक्रममा समेट्दै जाने उनले जानकारी दिए ।

उत्कृष्ट सामुदायिक विद्यालयहरुको अभ्यास र योजना
शत्यनारायण मावि विराटनगर–७, मोरङ प्रअ धर्मानन्द खरेलका अनुसार  कोभिड–१९ को कारण सिर्जित असहज अवस्थामा विद्यालय नियमित सञ्चालन गर्न नसकिए पनि रेडियो, टेलिभिजन र युट्युवबाट अनलाइन कक्षामार्फत् शिक्षण सिकाइलाई निरन्तरता दिइरहेको छ । विद्यालयले अनलाइनमार्फत् फेस टु फेस छलफलमा आधारित शिक्षण सिकाइ गर्दै आउको साथै लकडाउनको अवस्थामा विद्यार्थी तथा अभिभावकहरुलाई अनलाइनमार्फत् मनोसामाजिक परामर्शको कार्यक्रमसमेत सञ्चालन गरेको उनले जानकारी दिए ।

दूरशिक्षालाई थप व्यवस्थित गर्न सूचनाप्रविधि सामग्री खरिद गरिएको, शिक्षकहरुलाई सूचना प्रविधिमैत्री तालिम सञ्चालन गरिएको साथै, अनलाइन, रेडियो, टेलिभिजनको पहुँचमा नभएका विद्यार्थीका लागि सिकाइ सहजीकरण मिलाउन स्थानीय तहसँगछलफल चलिरहेको छ ।

बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्यले कोरोनाको असरलाई अवसरमा बदल्दै केही नयाँ अभ्यासहरुको थालनी गरेको बताए । लकडाउनलाई शिक्षक र विद्यार्थीलाई प्रविधिमैत्री हुने अवसरको रुपमा लिँदै विभिन्न क्रियाकलाप सञ्चालन गरिएको उनले जानकारी दिए ।

स्कूलले बैशाख पहिलो हप्तादेखिनै अनलाइन कक्षा सञ्चालन गरेको उनले जानकारी दिए । अनलाइन कक्षामा शुरुमै दुईतिहाइ विद्यार्थी सहभागी भएका र सहभागी नभएका विद्यार्थीका अभिभावकसँग छलफल गर्दा इन्टरनेटको पहुँच नभएको थाहा पाएपछि नेपाल टेलिकमसँग सहकार्य र अनुरोध गरी छुट्टै सस्तो ई शिक्षा डाटा प्याकेज तयार गरिएको आचार्यले भने । ‘यसमा १५ जिविको डाटा मात्र पाँचसयमा किन्न पाइन्छ र एक महिना अनलिमिटेड चलाउन पुग्छ ।’ अभिभावकसंघको सहयोगमा उक्त प्याकेज किनेर दूरदराजका विद्यार्थीलाई उपलब्ध गराएर अनलाइन शिक्षासँग जोडेको प्रिन्सिपल आचार्यले सुनाए ।

हाल गुगलमीट, जुमलगायत बाट पनि अनलाइन कक्षा भइरहेका छन् तर, स्कूलले सबै प्रयोग गरी अन्तिममा माइक्रोसफ्ट टिम टुल्सको छनोट र प्रयोग मार्फत कक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिए । यो कक्षाकोठा शिक्षणमैत्री, असाइनमेट दिन र हेर्न मिल्ने, मार्किङ र फिडब्याक लिन दिन सबै सुविधा यसैमा रहेको उनले जानकारी दिए ।

यो समयलाई अलिक सिर्जनात्मक बनाउन संसारमा अभ्यास भएका राम्रा शैक्षिक विधि सिक्ने, लर्नर सेन्टर स्थापना, विद्यार्थीलाई लेख लेख्न सिर्जनात्मक गतिविधिमा प्रोत्साहित गर्ने आदि काममा भएको उनले बताए । विद्यार्थीमा सकारात्मक सोच जार्गत गर्न अनलाइनमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । अडियो भिजिवल कक्षाहरु रेकर्ड गरी युट्युवमा राख्ने, अनलाइनमार्फत् परियोजना कार्य, परीक्षा लिने, विद्यार्थीको फिडब्याक लिएर सिकाइ गर्ने गरिएको प्रिन्सिपल आचार्यको भनाई छ ।

विहान अनलाइनमार्फत् योगा कक्षा, अनलाइन शिक्षक तालिम, अनुभव आदानप्रदान, प्रविधि र प्रकृतिलाइ जोड्दै सिकाइ गर्ने गरिएको छ । विद्यार्थीका आर्टिकलहरु विभिन्न अनलाइन पोर्टलमा प्रकाशित भएका छन् । स्कुलले विश्वका उत्कृष्ट गेष्ट लेक्टरको व्यवस्था, करिअर काउन्सिलिङका लागि मेन्टरिङ, अनलाइन कक्षाका लागि स्कूलले हरेक शिक्षकका लागि निःशुल्क ल्यापटप र इन्टरनेटको सुविधा उपलब्ध गराएको छ ।

जनता मावि तानसेन–३, पाल्पाका प्रअ गणेश ज्ञवाली विद्यालयले लकडाउनको समयमा रेडियो र टेलिभिजनमार्फत् भर्चुअल कक्षा सञ्चालन गरी सिकाइलाई निरन्तरता दिइरहेको बताउँछन् । विद्यार्थीलाई परियोजना कार्य दिएर सिक्ने वातावरण सिर्जना गरेको तथा अभिभावकहरुलाईसमेत अनलाइनमार्फत् मनोसामाजिक परामर्श दिइएको बताए । फेसबुक म्यासेन्जरबाटसमेत विद्यार्थीसँग शिक्षकहरु निरन्तर सम्पर्कमा रहेको, गृहकार्य दिने, प्रश्न र जिज्ञासा मेटाउने काम भइरहेको प्रअ ज्ञवालीले जानकारी दिए ।

यसबिचमा सम्पूर्ण शिक्षकहरुलाई विभिन्न तालिम दिएर सूचनाप्रविधिमा दक्ष बनाइएको, अन्यविद्यालयहरुसँगसमेत भर्चुअल बैठकगरी अनुभव आदानप्रदान गर्ने काम गरिएको थियो । यस्तै नगरका सम्पूर्ण विद्यालयमा उच्च गतिको इन्टरनेट विस्तार गर्न स्थानीय सरकारसँग अनुरोध गरिएको प्रअ ज्ञवालीले जानकारी दिए ।

पोखरिया मावि विराटनगर–३ मोरङका प्रअ खेमराज भट्टराईले विद्यार्थीको पहुँच हुनसक्ने दूरशिक्षाका माध्यमका बारेमा सर्वेक्षण भइरहेको जानकारी दिए । सबै विद्यार्थीलाई एउटै माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्न नसकिने भएपछि विद्यालयले टेलिफोनमार्फत् विद्यार्थीको पहुँच रहेको माध्यमका बारेमा अध्ययन गरिरहेको र केही दिनमै एकसाथ अनलाइन, रेडियो, टेलिभिजन र शिक्षण सामग्रीमार्फत् शिक्षण सिकाइ नियमित गर्ने उनले विद्यालयको योजना सुनाए ।

हाल शिक्षकलाई प्रविधिमैत्री बनाउन विभिन्न भर्चुअल कक्षा शिक्षण तालिम सञ्चालन गरिरहेको प्रअ भट्टराइले जानकारी दिए । कक्षा शिक्षक मार्फत् विद्यार्थी र अभिभावकसँग निरन्तर सम्पर्कमा रहने काम भइरहेको छ । ‘हामीले भर्चुअल कक्षा सञ्चालन गर्न सक्थ्यौं तर, एउटै माध्यम प्रयोग गर्दा विद्यार्थी छुट्नै र विभेद हुने देखेपछि सर्वे गरेर मात्र शुरु गर्ने निर्णय गर्यौं’– प्रअ भट्टराईले भने । पहिलो चरणको ५०० विद्यार्थीमा गरिएको सर्भेमा करिव ८९ प्रतिशत विद्यार्थीमा अनलाइनको पहुँच भएको पाइएको थियो । ११ प्रतिशतलाई कुन माध्यममा गर्ने र अन्य विद्यार्थीको हकमा पनि सर्भे भइरहेको विद्यालयको भनाई छ ।

सत्यवती मावि ब्यास–२ तनहूँका प्रअ इन्द्रप्रसाद पौडेलले लकडाउनको अवस्थामा शिक्षण सिकाइलाई निरन्तरता दिन भर्चुअल कक्षा सञ्चालन र त्यसले नसमेट्ने विद्यार्थीका लागि टोलटोलमा सिकाइ समूह बनाएर स्थानीय शिक्षक मार्फत् सिकाउने तयारी गरिरहेको बताए ।

अहिले विद्यार्थीको कुन प्रविधिमा कति पहुँच छ भनेर अध्ययन भइरहेको र त्यसको नतिजाका आधारमा अनलाइन र अफलाइन विधिबाट शिक्षण सिकाइ प्रक्रिया अगाडि बढाइने छ । विद्यालयले विद्यार्थीको हातहातमै पाठ्यपुस्तक र शिक्षण सामग्री पुर्याउने तयारी भइरहेको समेत जानकारी दिए । विद्यार्थीको पहुँचको आधारमा अनलाइन, रेडियो, टिभि, टेलिफोन र लेख्य सामग्रीद्वारा सिकाइलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

वागिश्वरी मावि भक्तपुरका प्रअ कृष्णप्रसाद धन्छाले लकडाउनको अवस्थामा पनि विद्यालयले बालबालिकाको सिकाइ प्रक्रियालाई वैकल्पिक माध्यमबाट भएपनि निरन्तरता दिइरहेको बताए । विद्यालयले अनलाइनको पहुँच हुने विद्यार्थीलाई अनलाइक कक्षा र टेलिभिजनको पहुँच हुने विद्यार्थीलाई स्थानीय टेलिभिजनमार्फत कक्षा सञ्चालन गरिरहेको छ । अनलाइन र टेलिभिजनको पहुँच नहुने विद्यार्थीका लागि स्थानीय रेडियो बाट कक्षा सञ्चालन गरिरहेको भन्दै रेडियोको पनि पहुँच नहुने केही विद्यार्थीका लागि स्थानीय पत्रिकामार्फत् सिकाइ सामग्री प्रकाशित गरिएको छ । २०२० सालमा स्थापना भएको विद्यालयमा हाल ३ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

पद्मोदय मावि दाङका प्रअ रामप्रसाद जैसीले लकडाउनको समयमा पनि विद्यालयले शिक्षणसिकाइ प्रक्रियालाई जारी राख्दै आएको बताए । विद्यार्थीहरुको सामान्य सर्भे गरेर पहुँचका आधारमा विभिन्न वैकल्पिक माध्यमहरुद्वारा वैकल्पिक कक्षा सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

विद्यालयले भर्चुअल कक्षा सञ्चालनका लागि शिक्षकलाई विभिन्न अनलाइन तालिम प्रदान गरिसकेको तथा २० शिक्षकलाई निशुल्क ल्यापटप वितरण गरिसकेको छ । थप १० शिक्षकलाई ल्यापटप उपलब्ध गराउने योजना सुनाउँदै प्रअ जैसीले अभिभावकहरुलाई पनि मनोसामाजिक परामर्श गर्ने कार्यक्रम रहेको सुनाए । ‘विद्यालयमा क्यारेन्टाइन भएकाले शिक्षक र विद्यार्थी विद्यालयबाट तर्सिएको अवस्था छ, तत्काल खोल्ने सम्भावना पनि छैन त्यसैले भर्चुअल माध्यममा नगइ सुखै छैन’– उनले भने । अब भर्चुअल माध्यमलाई शिक्षण सिकाइकै अंग बनाउने गरी विद्यालयले यसको विकास र विस्तारमा लागिरहेको प्रअ जैसीले बताए ।

ज्ञानोदय माध्यमिक विद्यालय बाफल काठमाडौंका प्रअ नातीकाजी महर्जनले विद्यालयले भर्चुअल कक्षाका लागि एउटा समिति र त्यसअन्तर्गत अनलाइन कक्षा सञ्चालनका लागि ७ सदस्यीय उपसमिति बनाएर काम गरिरहेको बताए । उपसमितिले अनलाइनकक्षाका लागि विद्यार्थीको पहुँच सर्वे गरेर योजना बनाइरहेको उनले जानकारी दिए । विद्यालयले डिजिटल कक्षाका लागि आफ्नै सफ्टवेयरको विकास गरेको छ भने, विद्यार्थीको पहुँचका आधारमा विभिन्न वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनको तयारी भइरहेको छ ।

कालिका माध्यामिक विद्यालय बुटवलका प्रअ घनश्याम पाठकले विद्यालयले महामारीको असरलाई अवसरको रुपमा लिँदै भर्चुअल शिक्षाको विकास र विस्तारमा लागिरहेको बताए । विद्यालयले स्थानीय टेलिभिजनमार्फत नियमित कक्षासञ्चालन गर्दै आइरहेको भन्दै अन्य माध्यमलाई पनि विकल्पको रुपमा प्रयोग गरिरहेको छ ।

यस्तै, देवि मावि विर्तामोड झापाकी प्रअ अम्विका श्रेष्ठले लकडाउनलगत्तै विद्यालयले शुरुमा विद्यार्थीहरुको अवस्था के छ भनेर पहिलो चरण जानकारी लिने, सम्पर्कमा रहने प्रयास गरेको जानकारी दिइन् । त्यसपछि भर्चुअल कक्षा सञ्चालनका लागि कुन माध्यमको पहुँचमा कति विद्यार्थी छन् भनेर जानकारी लिने काम भएको उनले बताइन् ।

कार्यक्रममा देशभरका साढे चारसय विद्यालयका प्रअ, शिक्षाविद्, कर्मचारी, पत्रकार, अभिभावकलगायतको सहभागिता रहेको थियो । सामुदायिक विद्यालयमा भएका राम्रा अभ्यासको विस्तार र कोभिड–१९ पछिको योजना तय गर्न विद्यालयहरुलाई सघाउ पुगोस भनेर कार्यक्रम आयोजना गरिएको समाजका महासचिव राजेन्द्र महराले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *