नारायणकाजी श्रेष्ठले नेपाल-भारतबीच देखेका चार समस्या यी हुन्

काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कूटनीतिक संवादमार्फत नेपाल-भारतबीच देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए। विश्वमा देखिएका सबै प्रकारका समस्याको समाधानको एक मात्र बाटो कूटनीतिक संवाद भएकोले नेपालले पनि समस्या समाधानका लागि कूटनीतिक संवादलाई गम्भीरताकासाथ आत्मसात् गरेको बताए।

प्रवक्ता श्रेष्ठले नेपाल-भारतबीच चार प्रकृतिका समस्या रहेको उल्लेख गरेका छन्। जसको सकारात्मक ढङ्गले समाधान गरेर आजको युगको आवश्यकता अनुसार सुदृढ र असल छिमेकी सम्बन्धमा नेपाल-भारतबीचको सम्बन्धलाई बद्लन जरुरी रहेको उनले बताए। उनले त्यो सम्भव रहेको पनि बताए। प्रवक्ता श्रेष्ठले नेपाल भारतबीच देखिएका समस्याहरू यसरी प्रस्तुत गरेका छन्, उनकै शब्दमाः

नेपाल भारत सीमा समस्या

अहिलेको ठोस अभिव्यक्ति लिम्पियाधुरा कालापानी लिपुलेकसहितको नेपालको पश्चिमी भू-भाग अतिक्रमण भएको छ। भारतले अतिक्रमण गरेको छ। त्यस्तै सुस्तामा पनि नेपाली भूमि अतिक्रमण भएको छ। सुस्तावासीहरु बिचल्लीमा छन्। त्यहाँ पनि नेपाली भूमि भारतद्वारा कब्जा गरिएको छ। विभिन्न ठाउँमा सीमा स्तम्भहरू उखेलिएका छन्। सीमा क्षेत्रका विभिन्न स्थानहरूमा हाम्रा भू-भाग अतिक्रमणमा परेका छन्। नेपाल भारतबिच प्रमुख समस्या एक सीमा अतिक्रमण हो। सीमा अतिक्रमण बन्द गरेर नेपालको भू-भाग ऐतिहासिक तथ्य र प्रमाणहरूले पुष्टि गर्ने भू-भाग हामीले प्राप्त गरियो र हामीले प्राप्त गर्यौं भने मुख्य समस्या समाधान हुनेवाला छ।

इतिहासको विरासतमा रहेका असमान सन्धि सम्झौता

हामीले ती असमान सन्धि सम्झौताहरूलाई पुनरावलोकन गरेर, त्यसलाई खारेज गर्ने वा आवश्यकता अनुसारको नयाँ सन्धि सम्झौताद्वारा प्रतिस्थापन गर्नुपर्ने आवश्यकता छ। त्यसमध्ये १९५० को सन्धि हामी सबै नेपाली एक भएर त्यसमाथि पुनरावलोकन गरौं। आवश्यकता अनुसार त्यसलाई नयाँ पारस्परिक सम्मान र समानतामा आधारित नयाँ सन्धिद्वारा प्रतिस्थापन गरौं, भनिरहेका छौं। यस प्रकारका असमान सन्धि सम्झौताहरूलाई खारेज गरेर सम्बन्धलाई सकारात्मक दिशा तीर लैजान सकिन्छ।

आन्तरिक मामिलामा हस्तक्षेप

हामीले यो बेलामा पनि देखिरहेका छौं। हाम्रो आन्तरिक मामिलामा कतिपय बेला हस्तक्षेप भइरहेको छ। हामी यस प्रकारका काम नहोस् भन्ने चाहन्छौं। पछिल्लो राजनीतिक परिवर्तनपछि, नयाँ संविधान जारी भएपछि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्तिलाई हामीले पछाडि धकेल्न सफल भएका छौं र त्यसबाट देशलाई मुक्त राख्ने प्रक्रियामा छौं। तर हामीले धकेल्न नपरोस्। भारतको संस्थापन पक्ष, भारतको सरकारले नै त्यसबारेमा आत्मालोचना गरेर त्यस प्रकारका सबै प्रवृत्तिहरूलाई सच्याउन जरुरी छ। हामीले नेपालको संविधान जारी गर्दा भारत सरकार र त्यहाँको जनता खुसी हुनु पर्ने हो। ६० वर्ष देखि नेपाली जनताले लगातार संघर्ष गरेर जुन संविधान जनताका प्रतिनिधिद्वारा आफैले जारी गरे। त्यसमा छिमेकी मित्र राष्ट्र खुसी हुनु पर्ने हो। तर हामीले नाकाबन्दीको सामना गर्न पर्‍यो। यस प्रकारका घटना बेला बेलामा हुने गरेको छ। यसमा भारत सच्चिन जरुरी छ।

आर्थिक क्षेत्रमा पनि उत्पीडन

आर्थिक क्षेत्रमा पनि कतिपय अवस्थामा उत्पीडनको अनुभूति गर्नु परेको छ। कोसी गण्डकी सम्झौता, पारवहनहरू जस्तो अधिकारका पक्षमा बेला बेलामा संघर्ष गर्नु परेको, पारवहन अधिकारका निम्ति संघर्ष गर्दा कतिपय बेला नाकाबन्दी बेहोर्नु परेको स्थिति पनि छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *