नेपालमा कोरोनाः २१ देखि ३० उमेर समूहका बढी संक्रमित, ८० प्लस केस १ मात्रै !

काठमाडौं । विभिन्न अनुसन्धानमा वृद्धवृद्धा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिममा रहेको तथा उनीहरु बढी संक्रमित हुन सक्ने भनिएपनि नेपालमा युवा समूहमा संक्रमण बढ्दो देखिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन् । संक्रमित १ हजार ७९८ मध्ये ६९७ जना यो उमेर समूहमा पर्छन्, जुन अन्य उमेर समूहको तथ्यांक भन्दा अधिक हो ।

त्यसपछि दाेस्राेमा ३१ देखि ४० वर्ष उमेर समूहका बढी संक्रमित छन्, जसमा संक्रमित संख्या ४१२ रहेको छ ।

क्रमशः ११ देखि २० वर्ष उमेर समूहका ३८६ जना, ४१ देखि ५० वर्ष उमेर समूहका १७२ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ५४ जना, १० वर्षभन्दा मुनि तथा १० वर्ष सम्मका ४९ जना, ६१ देखि ७० वर्ष उमेर समूहका २१ जना, ७१ देखि ८० वर्ष उमेर समूहका ६ जना र ८० भन्दा माथि उमेरका १ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

No photo description available.

आजै साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पाल्पाका १७, २६ वर्षीय पुरुष, नवलपरासीका ६ वर्षीय बालक, गुल्मीका २६ वर्षीय पुरुष, कपिलवस्तुका १९, २१, २६, २६, २७, ३५, ४० वर्षीय पुरुष र रुपन्देहीका ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुष छन् ।

नेपालमा स्वास्थ्य मन्त्रालयकाे पछिल्लाे अपडेट अनुसार १३ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ८ सय ११ पुगेकाे छ । संक्रमितमध्ये ८ जनाकाे मृत्यु भएकाे छ भने २२१ जना उपचारपछि निकाे भएका छन् । १५६९ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म पिसिआर विधिबाट ७१ हजार ९०३ र आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ वटा थ्रोट स्वाब नमुना परीक्षण भएका छन् । देशभर १ लाख ३३ हजार ९७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *