‘निच विचारधारा बोकेकाले मात्रै यस्तो अपराध गर्न सक्छन्’ राजेश हमाल

काठमाडौं । लोकप्रिय अभिनेता राजेश हमालले गत साता रुकुममा भएको घटना निच विचारधारा बोकेकाले मात्रै यस्तो अपराध गर्न सक्ने बताएका छन् । उनले उक्त घटनामा संलग्न अपराधीले कानुनी सजाय पाउनुपर्ने बताउँदै निच विचारधारा बोकेको व्यक्तिलेमात्रै यस्तो अपराध गर्नसक्ने बताएका हुन् ।

शनिबार फेसबुकमा भिडियो अपलोड गर्दै हमालले नवराज विश्वकर्मा र उनको समुदायमाथि भएको अपराधिक घटनाले स्तब्ध र दुखितमात्रै नबनाएको र एक हिसाबले सबैलाई आक्रोशित बनाएको बताएका छन् । ‘यस्तो किसिमको आक्रोश लाभदायक हुँदैन र फलदायक हुँदैन । यसले समाजलाई झनै विचलित र विभाजित गर्छ,’ हमालले भनेका छन् ।

अभिनेता राजेश हमाल

हरेक व्यक्ति र समुदायको समानरूपले कदर अनि सम्मान हुनुपर्छ भन्ने किसिमको विचारधारा र दृष्टिकोण राख्नेहरुमा यो घटनाले आक्रोश उत्पन्न गराएको हमालको भनाई छ । उनले एउटा व्यक्तिले अर्को व्यक्तिलाई, एउटा समुदायले अर्को समुदायलाई उसको जातको आधारमा, पृष्ठभूमिको आधारमा, उसको थर या पेशाको आधारमा अपमान गर्ने, गाली गलौज गर्ने, आपराधिक गतिविधिमा उत्रिने या उसको मानवतामा ठेस र्पुयाउने किसिमको व्यवहार कसैलाई पनि गर्ने अधिकार नभएको बताएका छन् ।

हमालले यस्तो किसिमको व्यवहार गर्ने व्यक्ति अपराधी हुने जिकिर गरेका छन् । त्यस्ता व्यक्तिलाई राष्ट्रको कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने उनले बताएका छन् । कायर र आफूमा विश्वास नभएको व्यक्तिले मात्रै अर्को व्यक्तिलाई या समुदायलाई जात, वर्गको आधारमा अपमान गर्ने, निच देखाउने प्रयास गर्ने उनको भनाई छ ।

वर्गिय विभाजन समाजमा रहेपनि नेपालीहरुमा आपसी भाइचारको सम्बन्ध अझै कायम रहेको उनको भनाई छ । उनले भनेका छन्–‘सकारात्मक भएर सोच्ने हो भने त नेपाली समाज र नेपाली समुदायहरु कतै न कतै एकआपसमा भाइचारा राख्ने, एकआपसमा सामाजिक सद्भाव कायम गर्ने भनेर नै विश्वसामु परिचित छौं, वर्गीय विभाजन समाजमा भएपनि हामीले यस्तो किसिमको भाइचारा जीवित राख्न कता न कता सफल भएका छौं । किनकि विश्वमा हामीले र्हेयौं भने विकसित से विकसित राष्ट्रमा एक किसिमको विभाजन देख्छौं ।’

जातीय भेदभावले सामाजिक र राजनैतिकस्तरमा पनि निखार नआउने हमालको भनाई छ । उनले उ फलानो जातको हामी फलानो जातको भन्ने किसिमको विभाजनको मनस्थिति कायम रहेसम्म हाम्रो सामाजिकस्तरमा र राजनीतिकस्तरमा पनि निखार आउन नसक्ने बताएका छन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *