संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौं। नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रतिनिधिसभामा पेश भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधनको प्रस्ताव पेश गरेकी हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयपछि मन्त्री तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेकी थिइन्। उनले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको निशान छाप पनि सोहीअनुसार मिलाउनका लागि संविधान संशोधन गर्नुपरेको बताएकी थिइन्।
उनले अनुसूचीअनुसार नेपालको वास्तविक नक्सासँग मिलाउन संविधान संशोधन आवश्यक रहेको बताएकी थिइन्। सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि संविधान संशोधन विध्ययेक ल्याइएको हो।
कानूनमन्त्री तुम्बाहाङफेले प्रस्ताव पेस गर्दै भनिन्, ‘नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसुची ३ मा उल्लेख भए बमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको सविंधानको अनुसुची ३ को निशान छाप भित्र अङ्कीत नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको सविंधानको अनुसुची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक सदन समक्ष पेस गर्दछु।’
यसअघि बुधबार संसदको कार्यसूचीबाट संविधन संशोधन प्रस्ताव राखेर पनि हटाइएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीमा आन्तरिक छलफलका लागि समय मागेकाले बुधबारको बैठकअघि सार्वजनिक भएको संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो।








