राप्रपा अध्यक्ष राणाले औंल्याए बजेटका सात कमजोरी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित देखिएको बताएका छन्। स्वास्थ्य क्षेत्रको बजेट उल्लेख्य रूपमा बढाएको भए तापनि बजेटले व्यवस्था गरेको विनियोजनले त्यो तहको महामारीलाई थेग्ने ल्याकत नराख्ने उनले बताए।

अध्यक्ष राणाले भनेका छन्, ‘यो बजेटको ठुलो हिस्सा कोरा कल्पनामा आधारित देखिन्छ। बेरोजगारी हटाउने आश्वासनका थुप्रै पोकाहरू बाँडिएका छन्। तर समाधान हुने ठोस आधार देखिँदैन। अझ ठुलो चिन्ताको विषय त विकासलाई कसरी गति दिने भन्ने नै हो।’

देशमा कोरोना भाइरसको सङ्क्रमण बढेर महामारीको रूप लिने खतरा देखिएको उल्लेख गर्दै उनले भने, ‘स्वास्थ्य क्षेत्रको बजेट उल्लेख्य रूपमा बढाएको भए तापनि बजेटले व्यवस्था गरेको विनियोजनले त्यो तहको महामारीलाई थेग्ने ल्याकत राख्दैन,’ उनले बजेटमा थुप्रै समस्याहरू देखिएको बताएका छन्। अध्यक्ष राणाले बजेटमा देखेका कमजोरी यस्ता छन्ः

२०७७/७८ को बजेट सरसर्ती हेर्दा मैले देखेका समस्याहरू

१. ३५% घाटा भएको बजेटले आकाश छुने मूल्य वृद्धि निम्त्याउने पक्कै छ। त्यसलाई बजेटलाई कसरी सम्बोधन गर्छ ?

२. विप्रेषणबाट हुने विदेशी मुद्राको आम्दानी घट्छ। पर्यटनबाट त ठ्याप्पै हुन्छ। यसरी आयात गर्ने विदेशी मुद्राको खाँचो पर्छ। खाँचोका कारण या त हामीले आयात घटाउनु पर्छ या शोधानान्तर स्थितिको सङ्कट बेहोर्नु पर्छ।

३. जनताको हातमा नगद नभई माग बढ्दैन, माग नबढी अर्थतन्त्र नै चलायमान हुँदैन।

४. कुल बजेटको २३.९% मात्र विकास बजेट छ। त्यति थोरै पूँजीगत खर्चले कसरी ७% को वृद्धिदर हासिल हुन सक्छ ? वृद्धिदरको लक्ष्य नै विकासयोग्य भएन।

५. ऋणको किस्ता र ब्याज तिर्न बजेटको ११.७% खर्च हुने प्रक्षेपण छ। के यो धान्न सकिन्छ ?

६. उद्योग र व्यवसायलाई कुनै अनुदान नदिई थोरै मात्र कर छुटको सुविधा दिइएको छ। कोरोना र त्यसले ल्याएको लकडाउनले थलिएको उद्योग व्यवसाय के यत्तिकैले पूनर्जीवित/ पूनर्स्थापित हुन सक्छ ?

७. अहिले विश्वको आर्थिक परिस्थिति (मन्दीको सम्भावना) हेर्दा बजेटले आस गरेको ऋण र अनुदान दुवै उपलब्ध हुने झिनो सम्भावना छ। त्यसैले बजेटले देखाएको ५ खर्ब ७४ करोड ३३ लाखको न्यून आन्तरिक वा बाह्य श्रोतबाट कसरी पूर्ति गर्ने भन्ने भरपर्दो आधार छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *