बजेटमा एमसीसी घुसाएपछि नेकपामा विवाद, बोलाइयो आकस्मिक बैठक

काठमाडौं । बजेटमा विवादित एमसीसी घुसाइएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद पूनः सुरु भएको छ । संसदबाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७-७८ को बजेटमा समेटेपछि नेकपाभित्रै विवाद सुरु भएको हो ।

बजेट किताबको अनुदान तथा ऋण सारांंश अनुसूची १० मा एमसिसी अमेरिकाबाट पाँच अर्ब ७२ करोड ७२ लाख रुपैयाँ प्राप्त हुने वैदेशिक अनुदानका रूपमा राखिएको छ । एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सचिवालय सदस्यको दबाबमा आज बिहान आकस्मिक रूपमा बैठक बोलाइएको छ ।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो । यसै विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुराकानी गरेका छन् । पार्टीका अन्य नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेरै यस सम्बन्धमा दबाब दिएपछि उनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रचण्डले पार्टीभित्र सहमति नगरीकन एमसीसी बजेटमा किन घुसाईयो ? भन्ने जिज्ञासा राखेका थिए । प्रचण्डको आग्रह अनुसार नै आज नेकपाको सचिवालय बैठक बस्ने भएको छ  । नेकपामा एमसीसीबारे विवाद भएपछि गएको पुसमा सकिएको केन्द्रीय कमिटी बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो ।

कार्यदलले अध्ययन प्रतिवेदन बुझाएपनि यस बारेमा पार्टीमा औपचारिक छलफल अझै भएको छैन । संयोजक खनाल र सदस्य भीम रावलले एउटा र अर्का सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छुट्टै तयार गरेको प्रतिवेदन बुझाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा नै एमसीसी संसदबाट पारित हुने बताएका थिए । साथै उनले एमसीसी पारित नभएपनि प्रशारण लाइन जसरि पनि बनाउने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *