विदेशबाट फर्कन चाहनुहुन्छ ? जहाज भाडा र होटल खर्च आफैँले व्यहोर्नुपर्छ है !

काठमाडौं । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने त भनिएको छ तर फकिँदा जहाज भाडा र होटल खर्च भने आफैँले तिनुपर्ने सरकारले जनाएको छ ।

भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्ने र नेपाल आउन चाहनेहरुले जहाजको भाडा आफैँ तिर्नुपर्ने छ ।

काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ । होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ । उनीहरूले आफ्नो क्षमता अनुसार होटल छान्न पाउनेछन् । होटलमा होल्ड गरिएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ । परीक्षणमा कोरोना संक्रमण नदेखिए गाडीमा राखेर स्थानीय तहसम्म पुर्‍याइने छ।

परराष्ट्र मन्त्रालयले तत्कालै ६ लाख नेपालीलाई स्वदेश ल्याउनुपर्ने देखिएको आँकडा निकालेको छ । सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा अप्ठ्यारोमा रहेका तथा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेकाे छ । बैठकले नेपाल फर्किन अनुमति पाइसकेका, अन्य कुनै कारणले बहिरगमन भिसा पाइसकेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने व्यक्तिहरुलाई पनि पहिलो चरणमा फर्काउने तयारी गरेकाे प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् ।

करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पनि घर फर्काउन सरकारकाे प्राथमिकतामा परेका छन् ।

त्यसैगरी सरकारी सेवामा रहेका र विदेश अध्ययन वा तालिमका लागि गएर फर्किन नपाएका, अध्ययन सकिएका विद्यार्थीहरु, कलेज बन्द भएका विद्यार्थीहरु, पारिवारिक भेटघाटमा गएर फर्किन नपाएका व्यक्तिहरुलाई तत्काल फर्काउने उच्चस्तरीय समितिले निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *