यस्तो छ संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाइनुको कारण

काठमाडौं । आजको प्रतिनिधिसभामा पेश हुने कार्यसूचीमा राखिएको संविधान संशोधनको विधेयक कार्यसूचीबाट हटाइएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएर जारी गरिएको नयाँ नक्सा बमोजिमको निशानाछाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक बुुधबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी भएको थियो । तर त्यो कार्यसूचीबाट नै हटाइयो ।
यो किन केकति कारण हटाइयो भन्ने सांसदहरुलाई नै जानकारी नभएको सांसदहरुले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले भन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय मागेका कारण यो कार्यसूचीबाट हटाएको बताएका छन् । मंगलबार बसेको सर्वदलीय बैठकमा कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्न भन्दै समय मागेको बताइएको छ । तर कांग्रस का केही नेताले भने यस्तो जानकारी नभएको बताएका छन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सम्भावित कार्यसूचीमा राख्दा पनि आफूहरुसँग परामर्श नभएको र हटाउँदा पनि कुनै छलफल नभएको बताएका छन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भने मंगलबार सर्वदलीय बैठकमा भएको छलफलअनुसार विधेयक पेश नभएको बताएकी छन् । उनले भनिन्, सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको सभापतिले हामी निशान छापमा परिवर्तन गर्न संविधान संशोधन गर्न तयार छौं, केही समय दिनुहोस् केन्द्रीय समितिमा निर्णय गरेर लिएर आउछौं भनेपछि आजको कार्यसुचीबाट हटेको हो ।’
यस्तै, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कांग्रेसले समय मागेका कारण आजको कार्यसूचीबाट हटाइएको बताएका छन् । तर यो बोमा धेरैदिन नपर्खिने पनि नेता नेम्वा.ले बताएका छन् । उनले भने, ‘तर यो विषयमा हामी धेरै पर्खिन सकिन्न भनिसकेका छौं । सभामुखले पनि भन्नुभएको छ । कांग्रेसले चाँडै केन्द्रीय कार्य समिति बैठकबाट निर्णय गर्ला । किनकी नक्सा जारी गरेको र भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्ने कुरामा सबै दलले प्रधानमन्त्रीलाई साथ दिन्छौं भनेका छन् ।’
कांग्रेस सभापति देउवाले बुधबार नै विधेयकलाई कार्यसूचीमा राख्दा आफूहरुलाई अप्ठ्यारो हुने भन्दै एक दुई दिन पर्खिन भनेका छन्, नेम्वाङले भने ।
कांग्रेस सांसद गगन थापाले तत्कालै केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेका छन् । उनले ट्वीटमा भनेका छन् ‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निश्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो । भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौं ।’
यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीटरमार्फत संशोधन प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । उनले ट्वीटरमा भने, ‘केन्द्रीय समिति बैठक बसेर संस्थागत निर्णयसाथ नयाँ नक्सा र संविधान संशोधनको पक्षमा उभिने जानकारी दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं’ ।








