भारतबाट आएकाहरुलाई तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न सांसद बोगटीको माग

काठमाडौं । प्रतिनिधिसभा सांसद यज्ञबहादुर बोगटीले भारतबाट आएका नागरिकहरुका लागि तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बोगटीले आफ्नो निर्वाचन क्षेत्र आछामका नागरिकहरुका लागि तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।

अछामका हजारौं नागरिक अहिले भारतबाट जिल्ला भित्रिएको अवस्थामा जिल्लामा कोरोनाको जोखिम बढीरहेको भन्दै सांसद बोगटीले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘विश्व कोरोना महामारीबाट आक्रान्त रहेको अवस्थामा अछाम जिल्लाका हजारौं नागरिकहरु भारतमा गएर रोजीरोटी गर्ने परिपे्रक्षमा आज महामारीका कारण असुरक्षितरुपमा जिल्ला फर्किनुपर्ने अवस्था आएको छ । हजारौं मान्छे जिल्ला प्रवेश गरेका छन् । उनीहरुको पीसीआर टेस्ट भएको छैन त्यसका निम्ति जिल्लामा किटको अभाव रहेको छ । त्यो व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

त्यस्तै, सांसद बोगटीले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका जिल्लाका विद्यार्थीहरुलाई जिल्ला फर्काउने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन् । ‘लकडाउनकै कारण काठमाडौं आएर विद्यार्थीहरु बसिरहेको अवस्थामा उनीहरुलाई खाद्यान्नको समस्या छ, उनीहरुलाई आफ्नो जिल्ला जानका निम्ति सरकारले आवश्यक व्यवस्था गरोस्’ , सांसद बोगटीे भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *